मर्जरपछि ग्लोबल आइएमई : ‘व्यवसाय विस्तारमा मुलुककै ठूलो बैंक, सेयरधनीलाई जतिसक्दो उच्च प्रतिफल’ « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

मर्जरपछि ग्लोबल आइएमई : ‘व्यवसाय विस्तारमा मुलुककै ठूलो बैंक, सेयरधनीलाई जतिसक्दो उच्च प्रतिफल’



काठमाडौं । शुक्रबार ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले प्रस्तावित लाभांश र मर्जर प्रस्तावसहित अन्य एजेण्डाहरु पारित गरेको छ ।

सभामा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश पारित भएको छ ।

सो सभाले बैंक अफ काठमाण्डूसंग मर्जरमा जाने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभामा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत भएको छ ।

ग्लोबल आइएमई बैंक र बिके गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भइसकेको बैंकका अध्यक्ष ढकालले बताए । सभाले बैकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

ग्लोबल आइएमई र बिओकले गत असार २ गते एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेका थिए । नेपाल राष्ट्र बैंकबाट पनि मर्जरमा जानका लागि गत असार २२ गते सैद्धान्तिक सहमति पाएको हो ।

मर्जर पश्चात दुवै बैंकको गरी चुक्ता पुँजी ३५ अर्ब ७७ करोड (दुवै बैंकको प्रस्तावित बोनस शेयर समेत गरी) तथा कुल पूँजीकोष ५४ अर्ब भन्दा वढी पुग्ने छ । कुल निक्षेप ४ खर्ब रुपैयाँ तथा कर्जा ३ खर्ब ७५ अर्ब रुपैयाँभन्दा वढी हुने हुँदा पूँजी सहित व्यवसाय विस्तारमा मुलुकको सबैभन्दा ठूलो बैंक बन्ने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।

बैंक अफ काठमाण्डूसँगको मर्जर बैंकको व्यावसायिक जीवनको ठुलो सकारात्मक फड्को हुने विश्वास लिईएको अध्यक्ष ढकालको भनाई छ। मर्जर पश्चात बैंकको व्यवसायिकतामा थप सुधार भई सेयरधनीहरुलाई बढीभन्दा बढी मुनाफा दिन सक्ने बैंक हुने अध्यक्ष ढकालको विश्वास छ । सेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बन्ने उनको भनाई छ ।

बैक अफ काठमाण्डुसंगको मर्जरले मुलुककै सवैभन्दा ठूलो बैंक बन्न सहयोग पुर्याउने मात्र नभई यसवाट बैंकले रणनीतिक रुपमै आफुलाई नेपालको वित्तीय क्षेत्रमा आफ्नो विशिष्ट पहिचानसहित नेपालक अर्थतन्त्रको सम्वृद्धिमा विशेष योगदान दिन सक्ने विश्वास बैंकले लिएको छ । यसका साथ सबै स्टकहोल्डरको हितमा उल्लेखनीय कार्य गर्न सक्षम बैंकको रुपमा स्थापित गर्ने बैंकले लक्ष्य लिएको छ । बैंकको वढ्दो श्रोतलाई दृष्टिगत गरी राष्ट्रिय महत्वका ठूलठूला उद्योग परियोजनाहरुमा लगानी गर्न बैंकले नेतृत्वदायी भुमिका खेल्न सक्ने क्षमता अभिवृद्धि हुने हुँदा सोही अनुसार स्वाभाविक रुपमा कार्यक्षेत्र विस्तार हुने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

मर्जर पश्चात बैंकले उत्पादनशिल क्षेत्रमा मात्र भनई राष्ट्रिय प्राथमिकतामा रहेको कृषि कर्जा, साना उद्यमी कर्जा, उर्जा क्षेत्र लगायत राष्ट्रले सहुलियत प्रदान गरी आएका अन्य क्षेत्र जस्तै, विपन्न वर्ग, महिला उद्यमी, युवा रोजगार आदि क्षेत्रमा समेत थप श्रोत पहिचालन गर्न विशेष पहल गर्ने जनाएको छ ।

बैंकले ७७ वटा जिल्लालाई समेट्ने गरी दुर्गम अति दुर्गम क्षेत्रमा समेत आफ्नो शाखा कार्यालय, काउण्टर लगायत शाखारहित बैकिङ्ग मार्फत वढी भन्दा वढी जनता माझ प्रविधीयुक्त बैङ्कि कारोवार विस्तार गर्ने लक्ष्य छ ।

शाखा संख्या करिव ३७५ रही ४ हजार जनशक्तिबाट बैंक परिचालन हुनेछ । विगतमा थुप्रै वित्तीय संस्थाहरुलाई गाभेर संचालनमा ल्याउँदाका खारिएका अनुभवहरु बैंक अफ काठमाण्डूसँगको मर्जर पश्चात् पनि उपयोगी हुने बैंकको विश्वास छ । मर्जरपछि एक सबल र नेपालकै सबैभन्दा ठुलो बैंक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्