के नेपाल साँच्चै संसारको सबैभन्दा ठूलो तोरी उत्पादक हो ? यस्तो छ कहानी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

के नेपाल साँच्चै संसारको सबैभन्दा ठूलो तोरी उत्पादक हो ? यस्तो छ कहानी



काठमाडौं । केही समययता नेपाली सञ्चारमाध्यममा संसारमै सबैभन्दा धेरै तोरी फलाउने देश नेपाल भएको खबरहरु आइरहेका छन् । संयुक्त राष्ट्र संघीय संस्था ‘खाद्य तथा कृषि संगठन–एफएओ’ले चार महिनाअघि प्रकाशित गरेको एउटा प्रतिवेदनलाई आधार मानेर यस्ता खबर आएका हुन् ।

उक्त सूचीमा नेपालपछि रुस, क्यानडा, म्यानमार, अमेरिका, चीन र युक्रेनले बढी तोरी उत्पादन गर्ने उल्लेख छ । एफएओले सन् २०२० मा नेपालमा २ लाख १४ हजार ५५ टन तोरी उत्पादन भएको भनेको छ । तर तर त्यसै वर्ष क्यानडाले १ करोड ९५ लाख टन तोरी उत्पादन गरेको थियो । चीनले १ करोड ४० लाख टन र भारतले ९१ लाख टन तोरी उत्पादन गरेका थिए ।

कोभीडको समयमा नेपालीहरु खानपानमा अलि बढी सजग भएको र त्यसलगत्तै रुस–युक्रेन युद्धका कारण खाने तेलको भाउ ह्वात्तै महँगिएपछि नेपालमा पनि तोरी खेतिमा किसानको रुचि बढेको छ । पछिल्लो दुई–तीन वर्षमा नेपालमा तोरीको भाउ दोब्बर हाराहारी महँगिइसकेको छ । यसले पनि किसानले पनि गहुँ वा अरु कुनै बाली लगाउनु भन्दा तोरीमा फाइदा देख्न थालेका छन् ।

तीन वर्ष अघिसम्म तोरीको भाउ औसत ९ हजार रुपैयाँ प्रतिक्विण्टल भएकोमा अहिले १८ हजारसम्म पुगेको किसानले बताएका छन् । यसरी भाउ महँगिएपछि आर्थिक लाभ देखेर तोरि खेती गर्नेको संख्या बढेको कृषि विभागका अधिकारीहरु पनि बताउँछन् ।

एक–डेढ दशकअघिसम्म तोरीको राम्रै खेति हुने पहाडी जिल्लामा अहिले जग्गा बाँझिने क्रम बढेको छ । तराइ क्षेत्रमा अहिले पनि तोरीको खेति बढिरहेको देखिन्छ । तर संसारमै बढी तोरी उत्पादन गर्ने देश नेपाल भएको भने पूर्ण सत्य होइन । यसका लागि तोरीको इतिहास बुझ्नु जरुरी छ ।

तोरीको इतिहास

आजभन्दा कम्तिमा ४ हजार वर्ष पहिले भारतीय उपमहाद्वीपमा तोरीको खेति गर्ने गरेको पत्ता लागेको छ । त्यसको २ हजार वर्षपछि अर्थात् लगभग २३०० वर्ष पहिले चीन र जापानमा पनि यसको खेति भएको देखिन्छ । यही तोरी १३ औं शताब्दीतिरमात्रै युरोप पुग्यो । त्यसपछि मेक्सिकोसम्म पुग्यो । अमेरिकी महाद्वीपमा तोरीको तेललाई खानामा मात्रै होइन, बत्ति बाल्न र कोल अर्थात् मेसिनहरु सञ्चालनमा पति प्रयोग गर्थे ।

तर दोस्रो विश्व युद्धताका युरोपेली नाकाबन्दीका कारण तोरी अमेरिकी भूमिमा पुग्न पाएन । मूलतः पोल्याण्ड र मेक्सिकोले त्यसताका अमेरिका र क्यानडालाई तोरी बेच्थे । तेल अभाव भएपछि अमेरिका र क्यानडामा यसको खेती बढ्न थाल्यो । तर तोरीमा हुने उच्च स्तरको युरिक एसिडले चीसो ठाउँमा बस्ने अमेरिकी र क्यानेडेलीमात्रै होइन, युरोपेलीलाई पनि असहज बनाइरहेको थियो ।

त्यसपछि पश्चिमाहरुले आ–आफ्नो तरिकाले तोरीमा पाइने युरिक एसिडको मात्रा घटाउन प्रयास गरे । सन् १९४० पछि सुरु भएको यो प्रयासले सन् १९७७ मा सार्थकता पायो । त्यसबेला डा. बाल्डर स्टेफान्सन र किथ डाउनीले तोरीको तेलमा पाइने युरिक एसिड र पिनामा पाइने ग्लुकोसिनोलेट्सलाई भारी मात्रामा घटाउने गरी अनुवांशिक परिवर्तन गर्न सफल भए ।

तोरीमा हुने करीव ४७ प्रतिशत ‘इरुसिक एसिड’ नामक उक्र अम्लीय पदार्थलाई हटाएर तयार पारिएको तोरीकै नविन प्रजातीलाई के नाम दिने भनेर बहस भयो । त्यसपछि क्यानडा (Canada)बाट Can र तेल (Oil) बाट OLA मिलाएर क्यानोला (Canola) नाम दिइयो । तर त्यो पनि तोरी नै हो ।

यसरी तोरीको अनुवांशिक परिवर्तन गरेर नयाँ प्रजाती तयार पारेको केवल ४५ वर्ष मात्रै भएको छ । तर यही बीचमा सिंगै अमेरिकी महाद्वीपमात्रै होइन युरो, अस्ट्रेलिया, चीन र भारतमै पनि यही नयाँ प्रजातीको तोरी खेति हुन्छ । नेपालले भने अनुवांशिक परिवर्तन गरिएको यस्तो तेलको आयातमा आंसिक प्रतिबन्ध गरेको छ ।

हाम्रो तोरीको प्रसंग

हालै सार्वजनिक प्रतिवेदनले अहिले पनि संसारमा सबैभन्दा धेरै तोरी युरोपेली संघ (खासगरी जर्मनी, फ्रान्स, पोल्याण्ड)ले उत्पादन गर्ने उल्लेख गरेको छ । त्यसपछि चनि, भारत, अस्ट्रेलिया, रुस, युक्रेन, अमेरिका, बेलायत, बेलारुस, पाकिस्तान, उरुग्वे, इरान र बंगलादेशले पनि नेपालभन्दा धेरै नै तोरी फलाउँछन् ।

अब कसरी नेपाल ठूलो उत्पादक भयो ? यसको सिधा उत्तर हो– नेपाल त्यो प्राकृतिक तोरीको सबैभन्दा ठूलो उत्पादक हो, जुन आजभन्दा ४ हजार वर्षअघि पनि फल्थ्यो । पश्चिमाहरुले अनुवांशिक परिवर्तन गरेको तोरीको बीउ नेपालमा आयात गर्नै प्रतिबन्ध छ । यहाँ त्यही पुरानो तोरी फल्छ, जसमा ४७ प्रतिशत ‘इरुसिक एसिड’को मात्रालाई बदलिएको छैन । अर्थात् अंग्रेजीमा मस्टर्ड (Mustard) भनिने प्राचीन र अपरिवर्तित तोरीको उत्पादनमा नेपाल अहिले पनि संसारको नम्बर १ मुलुक हो ।


प्रतिक्रिया दिनुहोस्