आयात प्रतिबन्धले अन्तर्राष्ट्रिय ब्यापार २२ प्रतिशत घट्यो, क्षेत्रीय ब्यापारमा नेपालको अवस्था निराशाजनक

काठमाडौं । आयात प्रतिबन्धका कारण यो आर्थिक वर्ष नेपालको अन्तरराष्ट्रिय ब्यापार झण्डै एक चौथाई घटेको देखिएको छ ।
भन्सार विभागले हालै प्रकाशित गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिरसम्म नेपालले वैदेशिक ब्यापार गतसालको तुलनमा २२ प्रतिशतभन्दा धेरैले घटेको हो । सरकारले गत वैशाख मध्येदेखि मंसिर मसान्तसम्म केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
संसारका अरु १३० मुलुकसँग नेपालले करीब १२ प्रतिशत अन्तरराष्ट्रिय ब्यापार छ । त्यसमा पनि जोर्डन, युक्रेन, साउदी अरेबिया, बेल्जियम, थाइल्याण्ड, जर्मनी, फ्रान्स, भियतनाम र कोरियाजस्ता मुलुक अग्रस्थानमा आउँछन् । दक्षिण एसियामा भारतपछि दोस्रो ठूलो ब्यापार साझेदार बंगलादेश नेपालका लागि २० औं नम्बरको साझेदार हो । त्यसपछि ब्राजिल, बेलायत, जापानजस्ता मुलुक छन् ।
भुटान नेपालको ३७ औं नम्बरको ठूलो साझेदार हो । हाम्रो ब्यापार साझेदारीमा पाकिस्तान ५१ औं र श्रीलंका ५७ औं नम्बरमा पर्छन् । अफगानिस्तान १०० औं र माल्दिभ्स १२५ औं स्थानमा छन् । द्वन्द्वग्रस्त येमन, माली, सुडान र अजरबैजानभन्दा पनि माल्दीभ्ससँग हाम्रो दुई पक्षीय ब्यापार कमजोर देखिएको छ ।
यसले क्षेत्रीय ब्यापारमा नेपालको उपस्थिति गतिलो भएको छैन भन्ने देखाएको छ । नेपालको पक्षमा भएको ब्यापार साझेदारी हेर्ने हो भने अफगानिस्तान बाहेक कुनै पनि सार्क मुलुक यो सूचीमा देखिन्न । ज्यादै कम भएको क्षेत्रीय ब्यापार पनि हाम्रो लागि नाफा होइन, घाटाकै सौदाबाजी भइरहेको छ ।
संसारका १४० मुलुकसँग भएको ब्यापार साझेदारीमा २९ देशसँगको ब्यापारमात्रै नेपालको फाइदामा छ । डेनमार्क, अमेरिका, अल्जेरिया, कम्बोडिया र रोमानियासँगको ब्यापार साझेदारी नेपालको पक्षमा देखिएका छन् । यी देशले नेपाललाई बेच्नेभन्दा नेपाली सामान किन्नमा बढी पैसा खर्चिरहेका छन् । उरुग्वे, नर्वे, क्रोएसिया, कङ्गो, लात्भिया, मौरिसस, मोनाको, आइसल्याण्ड, जाम्बिया, अजरबैजान, मोरक्कोजस्ता देश पनि नेपालका लागि नाफाको ब्यापार साझेदार हुन् ।
यो आर्थिक वर्षको ५ महिनामा करीब २१ प्रतिशत र निर्यात ३५ प्रतिशत घटेको छ । अहिले नेपालले ८९ रुपैयाँको आयात गर्दा ११ रुपैयाँको निर्यात गरिरहेको छ । नेपालले अहिले पनि ६१ प्रतिशत अन्तरराष्ट्रिय ब्यापार भारतसँग गरिरहेको छ । चीनबाट आयात बढेसँगै उत्तरी छिमेकीसँगको साझेदार पनि १३ प्रतिशत पुगेको छ । इण्डोनेसिया नेपालको तेस्रो ठूलो ब्यापार साझेदार बनेको छ । त्यहाँबाट नेपालले बढी मात्रामा कच्चा पाम तेल आयात गर्छ । फलाम, कोइला र सुपारी पनि इण्डोनेसियाबाट बढी मात्रामा आउँछ ।
युएई, अमेरिका, अर्जेण्टिना, कतार, मलेसिया, ओमन र अस्ट्रेलिया पनि नेपालको ठूलो ब्यापार साझेदारमध्ये पर्छन् । यी १० राष्ट्रसँग हाम्रो करीब ८८ प्रतिशत वैदेशिक ब्यापार निर्भर छ ।