ग्राहकबाट नियम विपरित लिएको साढे ४ अर्ब प्रिमियम र ब्याज रकम फिर्ता गर्दै बैंकहरु, कुनको कति छ ? « Arthapath.com
१४ पुष २०७९, बिहीबार

ग्राहकबाट नियम विपरित लिएको साढे ४ अर्ब प्रिमियम र ब्याज रकम फिर्ता गर्दै बैंकहरु, कुनको कति छ ?



काठमाडौं । वाणिज्य बैंकहरुले ग्राहकबाट नियम विपरित लिएको साढे ४ अर्ब बढी प्रिमियम र ब्याज रकम फिर्ता गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ग्राहकबाट नियमविपरित लिएको प्रिमियम र ब्याज रकम फिर्ता गर्न निर्देशन दिएको थियो । निर्देशनपछि बैंकहरूले सो वापतको प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । संचालनमा रहेकामध्ये २५ वटा वाणिज्य बैंकहरुले ग्राहकबाट नियम विपरित ४ अर्ब ६६ करोड रुपैयाँ बढी रकम असुल गरेका थिए । यो राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो । कृषि विकास बैंक बाहेक बैंकले नियम विपरित सो रकम ग्राहकबाट असुल गरेका थिए ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी एनआईसी एशिया बैंकको देखिएको छ । बैंकले ग्राहकबाट ४८ करोड नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रतिवद्धता गरेको छ । एनआइसी एसिया बैंकले सबै भन्दा बढी रकम फिर्ता गर्नु परेको छ । स्रोतका अनुसार राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई सबैभन्दा धेरै ४८ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ ।

धेरै रकम फिर्ता गर्नु पर्ने बैंक मध्ये दोस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकलाई नियम विपरित असुल गरेको ४७ करोड रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिइएको छ । सो रकम फिर्ता प्रक्रिया सुरु गरेको बैंकले जनाएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको ४५ करोड रुपैयाँ देखिएको छ । बैंकले सो रकम फिर्ता गर्न लागेको बताइएको छ । राष्ट्र बैंक अनुसार सबैभन्दा कम रकम फिर्ता गर्नुपर्नेमा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले गत वर्ष नियम विपरित असुल गरेको ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको हो ।

सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाडौ र पाइम कर्मसिलय बैंकले २६ करोड रुपैयाँ ग्राहकको खातामा फिर्ता गर्दा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

यस्तै, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड १० लाख, एनएमबी बैंकले १६ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड ४० लाख, नेपाल बैंक १५ करोड, प्रभु बैंकले १५ करोड, लक्ष्मी बैंकले १३ करोड ३० लाख, हिमालयन बैंक १२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड, सिटिजन्स बैंकले १२ करोड, माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रुपैयाँ रहेको छ ।

त्यसैगरि सिभिल बैंकले ११ करोड २० लाख रुपैयाँ, मेगा बैंकले ११ करोड, सानीमा बैंकले ११ करोड, एनसीसी बैंकले ८ करोड ५० लाख, सेन्चुरी बैंकले ६ करोड ५० लाख र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
यी सबै बैंकहरुले नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्