राष्ट्र बैंकले हटायो नगद मार्जिनको व्यवस्था, अब व्यवसायीलाई आयात गर्न सहज « Arthapath.com
५ माघ २०७९, बिहीबार

राष्ट्र बैंकले हटायो नगद मार्जिनको व्यवस्था, अब व्यवसायीलाई आयात गर्न सहज



काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्थालाई हटाएको छ। बिहीबार एकीकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले सबै प्रकारण्को नगद मार्जिनको व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकको परिपत्रमा भनिएको छ,– ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इजाजत प्राप्त परिपत्रः ०१–२०७८ को दफा १.१७ लाई खारेज गरिएको हुँदा सोही बमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्न) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ’ ।

यसअघि राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति चाप बढेपछि आयाताई कडाई गरेको थियो । बैंकले कडाईका साथ नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले २०७८ पुस ५ गते २० समूहका वस्तु र २०७८ माघ २८ गते थप २७ समूहका वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

यसअघि राष्ट्र बैंकले गत मंसिर १७ गते निर्माण सामाग्री, प्लास्टिकजन्य सामान र मोटरसाइकल, हवाइजहाज लगायतका उपकरणका पाटपुर्जा आयात गर्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको थियो । यस्तै, राष्ट्र बैंकले एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।

नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेजभएपछि अब व्यवसायीले सहज रुपमा विभिन्न वस्तु आयात गर्न सक्ने भएका हुन् । अब आयातका लागि व्यवसायी हुनै पनि प्रकारको नगद मार्जिन राख्न नपर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्