सेयर तथा ऋण लगानीमा प्राधिकरणको बढी खर्च, १ अर्ब २० करोडले घट्यो नाफा « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

सेयर तथा ऋण लगानीमा प्राधिकरणको बढी खर्च, १ अर्ब २० करोडले घट्यो नाफा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिब ११ अर्ब नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक २०७९/८० को पुस मसान्तसम्म १० अर्ब ९१ करोड ५९ लाख ७७ हजार रुपैयाँ कमाएको हो ।

प्राधिकरणको यो नाफा कर कट्टी गर्नु भन्दा अघिको हो, जुन गत आवको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशत अर्थात १ अर्ब २० करोड ५२ लाख रुपैयाँले कम हो ।

आवको ६ महिनामा प्राधिकरणले १२ अर्ब १२ करोड १२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा प्राधिकरणले ५८ अर्ब ५७ करोड ५३ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ । खर्च भने ४७ अर्ब ६५ करोड ९३ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ ।

विशेषगरि समिक्षा अवधिमा खर्च बढ्दा नाफामा घट्न गएको बताइएको छ । प्राधिकरणले विभिन्न जलविद्युत आयोजना र ग्रामिण विद्युतीयकरण १५ अर्ब २२ करोड १४ लाख रुपैयाँ सेयर तथा ऋण लगानी गरेको छ । सो बराबरको रकम आयोजना निर्माण र विद्युतीकरणमा लगानी गरेकाले नै नाफा घट्न गएको हो ।

गत आवमा प्राधिकरणले १६ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । लगानीमा बढी खर्च भएकाले नाफा घट्ने बिषयले त्यति महत्व नराख्ने प्राधिकरणले जनाएको छ ।

विद्युत चुहावट घटाउँदै प्राधिकरण

प्राधिकरणले वितरण तर्फको संंचित चुहावटलाई घटाएको छ । चालु आवको ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ ।

यो गत वर्षको समिक्षा अवधिका तुलनामा भने १.६६ प्रतिशत बिन्दुले घटाइएको हो । गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत चुहावट ९.६५ प्रतिशत थियो भने वितरण तर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो ।

नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका वितरणतर्फको संचित चुहावट घटाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।

गत वर्षको ७ महिनाको तुलनामा वितरणतर्फको विद्युत चुहावट यस वर्षको सोही अवधिमा ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो । प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ ।

चालू आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत प्राप्त भएको छ भने ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको छ । ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको प्राधिकरणले जनाएको छ ।

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताए । गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैह्रप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर जाने उनको भनाई छ । उनले भने,–‘ग्राहकका घरमा रािखएका मिटर रिसिलिङ गर्ने, वक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरी अभियानकै रुपमा सञ्चालन गरिएको छ।’


प्रतिक्रिया दिनुहोस्