बैंकहरुको तरलता सहज हुन् सकेनः एकदिनमै ११ अर्बले घट्यो निक्षेप, कर्जा लगानी सुस्त, सीडी रेसियो कति ? « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

बैंकहरुको तरलता सहज हुन् सकेनः एकदिनमै ११ अर्बले घट्यो निक्षेप, कर्जा लगानी सुस्त, सीडी रेसियो कति ?



काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप प्रयाप्त मात्रामा बढ्न सकेको छैन । अझै पनि बैंकहरुको तरलता सहज हुन सकिरहेको छैन ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन घटेको छ । एकदिनमै बैैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थको निक्षेप ५४ खर्ब २ अर्ब कायम भएको छ । यो गत बुधवार सम्मको तथ्याङ्क हो । तर, त्यसको अघिल्लो दिन अर्थात फागुन ३० गते मंगलबार भने वित्तीय संस्थाहरुमा ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

सो अवधिमा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह पनि ५ अर्ब रुपैयाँले घटेर ४८ खर्ब १२ अर्ब रुपैयाँ कायम भएको छ । तर, मंगलबारसम्म भने वित्तीय संस्थाहरुले ४८ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

वाणिज्य बैंकको निक्षेप एकदिनमै १२ अर्बले घट्यो, कर्जा प्रवाह सुस्त

पछिल्लो एक दिनमै वाणिज्य बैंकहरुको निक्षेपमा पनि गिरावट आएको छ । बैंकहरुको निक्षेप बुधवारसम्म १२ अर्ब रुपैयाँले घटेको हो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बुधवारसम्म बैंकहरुमा ४७ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । तर, अघिल्लो दिन अर्थात मंगलबारसम्ममा भने बैंकहरुले ४७ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि सुस्त देखिएको छ । बैंकको कर्जा प्रवाह एक दिनमा ५ अर्ब रुपैयाँले घटेको हो । राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म ४७ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवा गरेका बैंकहरुले बुधवारसम्म भने ४७ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ।

विस्तारै घट्दै सीडी रेसियो

पछिल्लो सयम बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कम हुँदै गएको छ । सीडी रेसियो दैनिक घट्दै गइरहेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुको सीडी रेसियो औसत ८५.६९ प्रतिशत छ ।केही महिनाअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत थियो भने कतिपयको ९० प्रतिशतभन्दा माथि पुगेको थियो । तर, अहिले सीडी पनि विस्तारै घट्दै गएको हो ।


प्रतिक्रिया दिनुहोस्