२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब बढी नेपाल भित्रियो « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब बढी नेपाल भित्रियो



काठमाडौं । नेपाल रेमिट्यान्स (विप्रेषण आप्रवाह) वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको चैत मसान्तसम्ममा रेमिट्यान्स ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पनि वृद्धि भएको छ । समिक्षा अवधिमा यस्तो संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।


प्रतिक्रिया दिनुहोस्