विदेशी विनिमय सञ्चितिमा १७ प्रतिशतको बढोत्तरी: १४ खर्ब ३३ अर्ब पुग्यो, ११ महिनाको आयात धान्न सक्ने « Arthapath.com
२७ बैशाख २०८०, बुधबार

विदेशी विनिमय सञ्चितिमा १७ प्रतिशतको बढोत्तरी: १४ खर्ब ३३ अर्ब पुग्यो, ११ महिनाको आयात धान्न सक्ने



काठमाडौं । पछिल्लो समय विदेशी विनिमय सञ्चिति बढ्न थालेको छ । विदेशी विनिमय सञ्चिति ९ महिनामा १७.९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको चैत मसान्तसम्ममा कुल विदेशी विनिमय १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । तर, गत २०७९ असार मसान्तमा विदेशी सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । तर, २०७९चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भएको छ । योसंगै सो अवधिमा यस्तो सञ्चिति १० अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि २०.६ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । तर, २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने झिनो वृद्धि भएको छ । गत २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । चालु आवको चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १५९ अर्ब ७४ करोड पुगेको छ । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

चालु आवको ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्