गभर्नर अधिकारीको बैंकरहरुलाई सचेत, ‘ब्याजदर र शुल्क बारे जानकारी गराएर मात्रै लिनु’ « Arthapath.com
२८ बैशाख २०८०, बिहीबार

गभर्नर अधिकारीको बैंकरहरुलाई सचेत, ‘ब्याजदर र शुल्क बारे जानकारी गराएर मात्रै लिनु’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले ग्राहकलाई ब्याजदर र शुल्क बारे स्पष्टसंग जानकारी गराएर मात्रै काम गर्नुपर्ने बताएका छन् ।

उनले बिहीवार राष्ट्र बैंकको गुनासो सुनुवाई ग्राहक संरक्षण महाशाखाद्वारा आयोजित सम्पूर्ण वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संगको छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकहरुले सर्वसाधारण ग्राहकहरुबाट कम गुनासो आउने गरि काम गर्नुपर्ने बताए । उनले भने,– ‘सर्वसाधारण ग्राहकबाट कम गुनासो आउने गरि कार्य गर्न सम्पूर्ण बैंकहरुलाई आग्रह गर्दछु । यस्ता विषयहरु बैंकहरुहरु सचेत रहनुपर्छ, र ग्राहकहरुलाई सचेत गराई गुणस्तरी सेवा प्रदानमा जोडदिनु होला ।’

सेवा प्रदान गर्दा लाग्ने शुल्क, ब्याजदर, लगायतका बारेमा ग्राहकलाई स्पष्टसंग बुझाउनुपर्ने उनको भनाई थियो । ‘धेरै ग्राहकहरुले बैंकको प्रडक्टको बारेमा नबुझेर साथै बैंकहरुले बुझाउन पनि नसकेको जस्तो देखिन्छ । यस्ताका प्रकारको कुरामा सचेत रहन आग्रह छ ।’–गभर्नर अधिकारीले भनेका थिए ।

उनले ग्राहकलाई सुचित गरेमात्रै काम गर्न निर्देशन दिएका थिए । उनले भने,–कतिपय बैंकहरुको धेरै कम्पेलेनहरु आईरहेका छन् । ग्राहकको गुनासो कम हुने गरि काम गर्न सबै बैंकहरुलाई आग्रह गर्दछु ।

राष्ट्र बैंकले सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर छलफल गरेको हो । सो कार्यक्रममा वाणिज्य बैंकमा सीईओ र गुनासो विभागका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकहरुले कर्जा असुली, सेवा शुल्क बढी लिएको लगायतको गुनासो बढ्न थालेपछि राष्ट्र बैंक यसको समाधानका लागि छलफल गरेको हो ।

यसैविच, बिहीवार बसेको नेपाल बैंकर्स संघको बैठकले आगामी जेठ महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । चैत महिनामा ब्याजदर घटाउँदा निक्षेप नबढेकाले आगामी जेठमा भने स्थिर राख्ने बैंकर्स संघले निर्णय गरेको हो ।

हाल बैंकहरुको निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम भएको थियो । त्यसअघि बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशत तोकेको थिए । ब्याजदर घटेपछि निक्षेप संकलनमा कमी देखिएको छ । त्यसकारण पनि बैंकहरुले आगामी जेठमा ब्याजदर स्थिर राख्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्