निरन्तर घट्दै खाने तेलको निर्यात: दोहोरो अंककै दरमा घट्यो सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

निरन्तर घट्दै खाने तेलको निर्यात: दोहोरो अंककै दरमा घट्यो सोयाविन, पाम र सूर्यमुखी तेलको निकासी



काठमाडौं । खाने तेल (भटमास, पाम र सूर्यमुखी) को निकासीमा भारी गिरावट आएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल पहिलो नम्बरमा छ भने सायोविन पाँचौं स्थानमा छ । तर, पछिल्लो समय यस्तो तेलको निर्यात दोहोरो अंकमा घटेको छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिईपीसी) बाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा पाम तेल निर्यात ५१.४० प्रतिशतले घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा ३७ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो । तर, यस वर्षको सोही अवधिमा भने १९ अर्ब ५० करोड ४० लाख रुपैयाँले घटेर १८ अर्ब ४४ करोड ३२ लाख रुपैयाँमा झरेको छ ।

यस्तै, सोयाविन तेलको निर्यात पनि ८१.३० प्रतिशत अर्थात ३६ अर्ब ८९ करोड २ लाख रुपैयाँले घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा आइपुग्दा ८ अर्ब ४६ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

यता, सूर्यमुखी तेलको निर्यात पनि झण्डै दोब्बरले घटेको छ । गत आवको १० महिनामा ४ अर्ब २९ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, यस वर्षको सोही अवधिमा भने ९१.५० प्रतिशतले घटेर ३६ करोड ४५ लाख रुपैयाँमा झरेको छ ।

नेपाली व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरि प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसैगरि मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् । कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ ।

भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरुप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो ।

सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायीहरु बताउँछन् ।

तेस्रो मुलुकबाट कच्चा प्रदार्थ ल्याएर प्रशोधन गरि भारतमा बिक्री गर्दा लागत बढी हुन्छ र मुल्य पनि स्वत बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको उनीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्