नेपालमा बन्ने सुन र चाँदीका गहनाको अन्तर्राष्ट्रिय व्यापार निरन्तर घट्न थाल्यो, विदेशी मुद्रा आर्जनमा कस्तो असर ? « Arthapath.com
१८ असार २०८०, सोमबार

नेपालमा बन्ने सुन र चाँदीका गहनाको अन्तर्राष्ट्रिय व्यापार निरन्तर घट्न थाल्यो, विदेशी मुद्रा आर्जनमा कस्तो असर ?



काठमाडौं । नेपालबाट निर्यात हुने सुनचाँदीका मौलिक गहना निर्यात निरन्तर घटीरहेको छ । पछिल्लो समय सुन र चाँदीका गहना निर्यात दोहोरो अंकले घटेको छ ।

नेपालमा बनेका सुन र चाँदीका मौलिक गहनमाको अन्तर्राष्ट्रिय व्यापारमा उत्साह देखिएको छैन । विदेशी मुद्रा आर्जन गर्ने स्रोत मध्येको सुन र चाँदी गहना निर्यात पनि हो, तर यसको निकासी पछिल्लो समय खस्किदो छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ११ महिनामा सुनका मौलिक गहना निर्यात ६९.३० प्रतिशतले घटेको छ । गत वर्षको जेठ मसान्तसम्ममा ४५ करोड ३२ लाख रुपैयाँ बढीका सुनका गहना नेपालबाट बाहिरिएको थियो । तर, यस आवको सोही अवधिमा आइपुग्दा भने यस्तो निकासी १४ करोड ८४ लाख रुपैयाँमा झरेको छ । चालु आवको जेठ महिनासम्मा १५ केजी बढीको गहना निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । एक वर्षको अवधिमा सुनका गहना निर्यात ३३ करोड ४८ लाख रुपैयाँले घटेको हो ।

विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको विभागले जनाएको छ । भन्सार विभागले एचएस कोड दिएपछि आर्थिक वर्ष २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको हो । सुनका गहना निर्यात गत वर्षमा भने निकै उत्साहजनक रुपमा बढेको थियो । आर्थिक वर्ष २०७७/७८ मा ३८ करोड ७१ लाख रुपैयाँको ३८ केजी बराबर सुनका गहना निर्यात भएको थियो । यसैगरि गत आव २०७८/७९ मा ५३ करोड २७ लाख रुपैयाँ बराबरको ६१ केजी सुनको गरगहना निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बिशेषगरि अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ । भन्सारले एचएस कोड दिएको वर्ष सुनको गहना निर्यात उच्च दरमा वृद्धि भएको थियो । तर, पछिल्लो समयमा यसको निकासी निरन्तर घटीरहेको छ । सुनको गहनाको निर्यात घटेसंगै विदेशी मुद्रा आम्दानी पनि घटी रहेको व्यवासायीहरु बताउँछन् । सरकारले सुन आयातमा कोटा तोकेको छ । कोटा तोकेपछि नै आयात बढ्न सकिरहेको छैन । पछिल्लो समय काँचो सुन अभावले नै गहना निर्यात घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका एक अधिकारीले बताए ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । ‘महासंघ सुनको आयातको कोटा घटाए पनि निर्यात गर्ने व्यवसायीलाई छुट्टै सुन आयात गर्न दिने भनिएको थियो । यसका लागि बिशेष व्यवस्था हुने उल्लेख गरिएको थियो । तर, त्यसको लागि कुनै व्यवस्था नहुँदा सुनको गहनाको निर्यात प्रभावित भएको छ’– ती अधिकारीले भने ।

यस्तै, पछिल्लो समय चाँदीका गहना निर्यातमा पनि दोहोरो अंकको गिरावट आएको छ । चालु आवको ११ महिनाको अवधिमा १८ करोड ५६ लाख रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ । समिक्षा अवधिमा ८१३ केजी चाँदीको गहना निर्यात । तर, गत आवको जेठ मसान्तसम्मको तुलनामा भने ४१ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा ३१ करोड ४४ लाख रुपैयाँ बराबरको चाँदीका गहना नेपालबाट बाहिरिएको थियो । गत वर्ष भने कुल ३६ करोड ९० लाख रुपैयाँ बराबरको गहना निकासी भएको तथ्याङ्कमा उल्लेख छ ।

विशेषगरि नेपालका चाँदीका गहनाको सबैभन्दा ठुलो आयातकर्ता संयुक्त राज्य अमेरिका रहेको छ । नेपालका चाँदीका गहना अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, डेनमार्क, सिंंगापुर , जापान, जर्मन, लगायतका दर्जन बढी मुलुकहरुमा पुग्ने गरेको छ । पछिल्लो समयमा विश्वमै चाँदीका गहनाप्रतिको मानिसहरुको आकर्षण र माग पनि बढ्दै गएको पाइन्छ । नेपालमा उत्पादन हुने अधिकांश चाँदीका गहनामा नेपाली परम्परा र आधुनिकताको समिश्रण हुने गरेको छ । जसले देश भित्र र अन्तर्राष्ट्रिय बजारमा पनि यस्ता गहनाप्रति मानिसको आकर्षण हुने गरेको छ । तर, पछिल्लो समयमा भने यसको निकासी घट्न थालेको छ ।

विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक गहना नेपालबाट निर्यात हुने गरेको छ । विदेशी मुलुकमा नेपालीहरुको बसोबास धेरै भएका देशहरुबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ । नेपालमा बनेका सुन र चाँदीका गहनाको मुख्य ठुलो बजार अर्थात आयातकर्ता नै अमेरिका हो ।

सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिँदै आएका थिए । व्यवसायीहरुले नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै आएका थिए । सुनचाँदीको कारोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठीनाई भएको व्यवसायीहरु बताउँछन् । ‘निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यवसायीक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको उनीहरुको भनाई छ । गहनाको निर्यात बढाउन सकेको विदेशी मुद्रा आम्दानी बढ्ने थियो । यसको प्रसस्त सम्भावना छ । त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ’–एक व्यवसायीले भने ।


प्रतिक्रिया दिनुहोस्