बैङ्कहरूले बढाए घर जग्गा कर्जा: एनआइएमबि, नबिल र एनआईसीको सबैभन्दा धेरै, लगानी विस्तारमा एभरेष्ट अगाडि « Arthapath.com
१५ भाद्र २०८०, शुक्रबार

बैङ्कहरूले बढाए घर जग्गा कर्जा: एनआइएमबि, नबिल र एनआईसीको सबैभन्दा धेरै, लगानी विस्तारमा एभरेष्ट अगाडि



काठमाडौं । बैङ्कहरूले घर जग्गा कर्जामा लगानी विस्तार गरेका छन् । गत वर्ष वाणिज्य बैङ्कहरूले सवा दुई खर्ब बढी कर्जा लगानी घर जग्गामा गरेका हुन् । 

नेपाल राष्ट्र बैङ्कबाट प्राप्त गत तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैङ्कहरूले २ खर्ब १७ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका हुन् । एक वर्षमै वाणिज्य बैङ्कहरूको घर कर्जा थप १८ अर्ब ३२ करोड रुपैयाँ अर्थात् ९.१७ प्रतिशतले बढाएका हुन् । अघिल्लो वर्ष भने बैङ्कहरूले कुल १ खर्ब ९९ अर्ब ६४ करोड ९ लाख रुपैयाँ घर जग्गा कर्जामा लगानी गरेका थिए । 

नियामक निकाय राष्ट्र बैङ्कले घर जग्गा क्षेत्रको लगानीमा कडाइ गरेको थियो । तर, नियामकीय कडाइका बाबजुद पनि बैङ्कहरूले घर जग्गा क्षेत्रमा लगानी बढाएको देखिन्छ । राष्ट्र बैङ्कले अनुत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढेको भन्दै कडाइ गरेको थियो । 

गत वर्ष तरलता अभावमा बैङ्कहरूले घर जग्गामा लगानी गर्न नसकेको भनिएको थियो । विशेष गरी कित्ताकाट, बैङ्क तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज  वृद्धिले नै घर जग्गा कारोबारले गति लिन नसकेको देखिन्छ । तर, राष्ट्र बैङ्कको तथ्याङ्कले आर्थिक सङ्कट, तरलता अभावका बाबजुद पनि घर जग्गामा बैंकहरुको लगानी भने बढाएका पाइएको हो । 

घर जग्गामा एनआइएमबि, नबिल र एनआईसी एशियाको सबैभन्दा धेरै लगानी

घर जग्गा लगानीमा नेपाल इनभेष्टमेन्ट मेगा (एनआइएमबि) बैङ्क पहिलो नम्बरमा छ। बैङ्कले गत वर्ष २५ अर्ब २७ करोड ६२ लाख रुपैयाँ बढी घर जग्गा कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा एनआइएमबिले घर जग्गा कर्जामा लगानी ३५.५६ प्रतिशतले बढाएको हो । 

दोस्रो स्थानमा रहेको नबिल बैङ्कले पनि यस्तो क्षेत्रमा कर्जा लगानी २७ प्रतिशतले बढाएको छ । गत वर्ष नबिलले २३ अर्ब ३० करोड बढी घर जग्गा कर्जा लगानी गरेको छ । यता, तेस्रो स्थानमा रहेको एनआईसी एशियाले भने घर जग्गा कर्जामा २१ अर्ब ९० करोड ३० लाख रुपैयाँ बढी लगानी गरेको देखिन्छ। जुन अघिल्लो आवको तुलनामा धने १३.१८ प्रतिशतले बढी हो । 

यस्तै, समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैङ्कले १७ अर्ब ३२ करोड ४० लाख, ग्लोबल आइ मईले १५ अर्ब ९९ करोड ५६ लाख, प्राइमले १५ अर्ब १७ करोड ३३ लाख, हिमालयनले १५ अर्ब ७ करोड ८८ लाख रुपैयाँ घर जग्गा कर्जामा लगानी गरेका छन् । 

त्यसैगरि गत वर्ष प्रभु बैङ्कले १४ अर्ब २४ करोड ८३ लाख, नेपाल बैङ्कले ११ अर्ब ८६ करोड र लक्ष्मी सइनराज बैङ्कले १० अर्ब ७२ करोड ५ लाख रुपैयाँ लगानी गरेको देखिएको छ। 

कर्जा विस्तारमा एभरेष्ट अगाडि, सबैभन्दा धेरै माछापुच्छ्रेको घट्यो

घर जग्गा कर्जा लगानीमा एभरेष्ट बैङ्क अगाडि देखिएको छ। बैङ्कले अघिल्लो वर्षको तुलनामा यस्तो लगानी विस्तार व्यापक रूपमा बढाएको हो । गत वर्ष एभरेष्टले घर जग्गा कर्जामा लगानी ५७.४४ प्रतिशतले बढाएर ६ अर्ब ६६ करोड रुपैयाँ पुर्‍याएको छ।  

अधिकांश बैङ्कहरूले लगानी बढाएको छ । तर, माछापुच्छ्रे  बैङ्कको भने घटेको देखिन्छ । अघिल्लो वर्ष ६ अर्ब ६ करोड बढी घर जग्गा कर्जा लगानी गरेको माछापुच्छ्रेले गत वर्षसम्म आइपुग्दा भने ६८.४२ प्रतिशतले घटेको छ ।  

यस्तै, गत वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले घर जग्गा कर्जामा ७ अर्ब ७७ करोड, सानिमाले ६ अर्ब ५५ करोड, सिद्धार्थले ५ अर्ब ९१ करोड, नेपाल एसबिआईले ४ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका छन् । 

यता, सिटिजन बैङ्कले पनि ४ अर्ब ५३ करोड, कुमारीले १ अर्ब ८६ करोड ५४ लाख र कृषि विकास बैङ्कले १ अर्ब ६५ करोड रुपैयाँ घर जग्गा कर्जामा लगानी गरेका छन् । यद्यपि, यी बैङ्कहरूले यस्तो लगानी अघिल्लो वर्षको तुलनामा भने घटेको हो ।

घर जग्गा कर्जा लगानी कुन बैंकको कस्तो ?

 


प्रतिक्रिया दिनुहोस्