व्यापारको सिजनमै ‘सुन बजार’मा थपिएन उत्साह, किन घटिरहेको छ कारोबार ? « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

व्यापारको सिजनमै ‘सुन बजार’मा थपिएन उत्साह, किन घटिरहेको छ कारोबार ?



काठमाडौं । यति बेला हिन्दु महिलाहरूको पर्व हरितालिका तीज सँघारमा छ । यो सिजनमा सुनको व्यापार बढ्ने हो । तर, सुन व्यापारको सिजन मानिने तीजको मुखैमा पनि खास कारोबार हुन सकेको छैन । अन्य महिनाको तुलनामा झिनो रुपमा वृद्धि भएता पनि व्यापारमा उत्साह नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

पछिल्ला केही वर्षदेखि सुनको बजार निरन्तर ओरालो लागि रहेको छ । अन्य समयको भन्दा धेरै व्यापार हुने समयमै कारोबार उत्साहजनक नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए । अघिल्लो वर्षहरूमा जस्तो सुनको व्यापार नभएको अध्यक्ष शाक्यको भनाई छ । उनले भने,– ‘पहिले जस्तो सुनका कारोबारमा उत्साह छैन । सुन व्यापारको सिजन मानिने तीजको मुखैमा पनि कारोबारमा खास सुधार देखिँदैन । बजार माग पनि एकदमै न्यून छ ।’

पछिल्लो समय देखिएको आर्थिक मन्दी र मूल्य वृद्धिका कारण पनि सुन व्यापारमा उत्साह  नरहेको अध्यक्ष शाक्यले बताए । अन्तर्राष्ट्रिय रुपमै सुन महँगिएपछि तीज तथा चाडबार्डको सिजनमै बजारमा चहलपहल नभएको उनको भनाई छ । ‘आर्थिक मन्दी र मूल्य वृद्धि लगायतको मारमा उपभोक्ताहरू परेका छन् । उनीहरूको खर्च गर्ने क्षमता पनि घटेको छ । पहिले पहिले जस्तो माग पनि खास छैन’– शाक्यले भने । 

अहिले बजार माग नै एकदमै सुस्त रहेको उनको भनाई छ । उनका अनुसार अनुसार अहिले दैनिक १० देखि १५ केजीसम्म खपत भइरहेको छ । यद्यपि, अघिल्लो वर्षहरूको तुलनामा करिब करिब आधाले घटेको हो । केही वर्ष अघिसम्म दैनिक २५/३० केजी भन्दा माथि खपत हुने गरेको थियो । अहिले नयाँ किन्नेभन्दा पुरानो सुन साट्ने (बेच्ने) बढी छन् । ‘बजारमा नयाँ सुन किन्नेको तुलनामा साट्नेहरूको पनि सङ्ख्या बढ्दो छ । मूल्य महँगो भएकाले तुलनात्मक रूपमा आफ्ना पुरानो गहनासँग अर्को गहना साटफेर गर्नेको सङ्ख्या अलि बढी छ’– अध्यक्ष शाक्यले भने । 

सुनको मूल्यमा भारी वृद्धि भएपछि तीजको बेला पनि सुनको कारोबारमा गिरावट आएको हो । आर्थिक मन्दी र मूल्यवृद्धिको असर सुनचाँदी व्यापारमा परेको बिक्रेताहरूको भनाई छ । ‘केही वर्ष अघिसम्म तीज आउन एक महिना अघिदेखि सुनचाँदी पसलमा उपभोक्ताको भिडभाड र चहलपहल हुने गरे गर्दथ्यो । तर, पनि यस वर्ष तीजमा कारोबार नै उत्साहजनक छैन’– एक व्यापारीले बताए ।

अहिले नेपाली बजारमा सुनको मूल्य १ लाख रुपैयाँभन्दा माथि नै छ । पछिल्लो महिनामा सुनको भाउ १ लाख रुपैयाँभन्दा तल झर्न सकेको छैन । मूल्य  घटेपछि नै कारोबार बढ्ने हो, तर निरन्तर रूपमा भाउ उकालो लागेपछि व्यापार प्रभावित भएको छ । शुक्रवार मात्रै (भदौ २९ गते) छापावाला सुनको भाउ १ लाख ११ हजार ८०० रुपैयाँ, तेजाबी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

उनका अनुसार सुन पसलहरू करिब–करिब सुनसान जस्तै छन् । ‘व्यापारको मुख्य सिजन नै तीज मानिन्छ । बितेका केही वर्ष अघिसम्म यो सिजनमा ग्राहकको भिडभाड र चहलपहल निकै हुने गरेको थियो । तर, यस वर्ष पहिले पहिले जस्तो व्यापार भएको छैन । पसलहरू पनि करिब करिब सुनसान जस्तै छन्’–ती व्यापारीले बताए ।

बिस्तारै कारोबार बढ्ने व्यापारीहरूको अपेक्षा थियो । तीज लगायतका नजिकिएको चाडबाड तथा बिहेको सिजनले गर्दा पनि कारोबार बढ्ने उनीहरू ले आश गरेका थिए । तर, यसपालिको तीजले सुन बजारमा उत्साह थपिने अवस्था देखिँदैन । ‘कारोबार बढ्नका लागि सुनको भाउ घट्नुपर्छ, मूल्य ओरालो लागेपछि नै व्यापार बढ्ने हो । तत्काल मूल्य घट्ने सङ्केत पनि छैन’– ती व्यापारीले भने । बजारमा कारोबार घट्दा साना व्यवसायी धेरै प्रभावित भएका छन् । 

सुन आयात पनि घट्यो 

पछिल्लो समय सुन आयात पनि निरन्तर घटिरहेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा झन्डै दुई अर्बको मात्रै सुन आयात भएको छ । जुन, अघिल्लो आवको सोही महिनाको तुलनामा २९.०८ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षहरूमा सुन आयात निकै बढेको थियो । तर, पछिल्लो समय घट्दै गएको हो । गत वर्षको साउनमा पनि नेपालले २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ बढीको सुन आयात गरेको थियो ।

भन्सार विभागका अनुसार अघिल्लो आवको पहिलो महिनामा २६१ केजी बढी सुन आयात भएको थियो । तर, चालु आवको समीक्षा अवधिमा भने ४० केजीले घटेर २२१ केजी सुन मात्रै आयात भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्