खाने तेलको निराशाजनक निकासी: किन खस्किँदो छ भटमास, पाम र सूर्यमुखी तेलको निर्यात ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

खाने तेलको निराशाजनक निकासी: किन खस्किँदो छ भटमास, पाम र सूर्यमुखी तेलको निर्यात ?



काठमाडौं । खाने तेल (पाम, भटमास र सूर्यमुखी) को निकासी लगातार निराशाजनक छ । पछिल्लो समय  यसको निर्यात झन् झन् खस्किँदै गएको छ । 

केही समय अघिदेखि प्रशोधित खाने तेलको निकासी निरन्तर ओरालो लागेको छ । गत वर्षको असोज मसान्तसम्ममा ८ अर्ब ५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको पाम तेल नेपालले निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने यसको निकासी ८३.५ प्रतिशतले घटेको छ । चालु आवको असोज मसान्तसम्ममा १ अर्ब ३२ करोड ५३ लाख ९७ हजार रुपैयाँ मात्रै पाम तेल निर्यात भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको चालु आवको पहिलो त्रैमासको तथ्याङ्कले यस्तो देखाएको हो । 

चालु आवको तीन महिनामा भटमास तेलको निर्यातमा शतप्रतिशत गिरावट आएको छ । गत वर्षको असोज मसान्तसम्ममा ३ अर्ब १६ करोड २३ लाख १९ हजार रुपैयाँ बराबरको तेल निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ९८.४ प्रतिशतले घटेर ५ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।  गत वर्षभर भने नेपालले कुल ८ अर्ब ४७ करोड ५९ लाख ९२ हजार रुपैयाँ बराबरको भटमास तेलको निकासी गरेको थियो । 

यस्तै, समीक्षा अवधिमा सूर्यमुखी तेलको निर्यात पनि ४५.६ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनामा ८ करोड ५० लाख रुपैयाँको मात्रै सर्यमखुी तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालले १५ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको यस्तो तेल निकासी गरेको थियो । गत वर्षभर भने ४४ करोड १८ लाख बढीको सूर्यमुखी तेल निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । 

नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरी प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसै गरी मलेसिया, इन्डोनेसिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन् । 

पछिल्लो समय तेलको कच्चा पदार्थ आयात पनि खस्किँदो नै छ । चालु आवको तीन महिनामा कच्चा पाम तेलको आयात ६४.८ प्रतिशतले घटेर ३ अर्ब ५१ करोड २८ लाख रुपैयाँमा झरेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने यस्तो तेल ९ अर्ब ९७ करोड बढीको आयात भएको थियो । 

यस्तै, समीक्षा अवधिमा कच्चा भटमास तेलको आयात ६८.४ प्रतिशतले घटेर ४ अर्ब ४३ करोड २५ लाखमा सीमित भएको छ । यता, सूर्यमुखीको कच्चा तेलको आयात पनि ओरालो लागेको छ । समीक्षा अवधिमा सूर्यमुखीको कच्चा तेल आयात ३१.९ प्रतिशतले घटेर ४ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ कायम भएको तथ्याङ्कमा उल्लेख छ ।  

तेल आयातमा भारत सरकारले लिएको पछिल्लो नीतिका कारण नै नेपालको निर्यातमा निरन्तर गिरावट आएको हो । भारतले तेल आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको हो । भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो । पाम तेलमा भन्सार महसुल घटाएपछि निर्यातमा उच्च गिरावट आएको व्यवसायीहरू बताउँछन् ।

कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ । भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शून्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरूप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो । सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको थियो । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घट्दो क्रममा छ । 


प्रतिक्रिया दिनुहोस्