बिक्री आम्दानी बढाए पनि शिवम् सिमेन्ट कसरी पुग्यो नोक्सानीमा ? « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

बिक्री आम्दानी बढाए पनि शिवम् सिमेन्ट कसरी पुग्यो नोक्सानीमा ?



काठमाडौँ । शिवम् सिमेन्टको नाफा ऋणात्मक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरणअनुसार कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । कम्पनीको बिक्री आम्दानी बाहेक अन्य आम्दानी घटेको छ । समीक्षा अवधिमा खर्च पनि बढेको छ । यस्ता कारण नै कम्पनीले नोक्सानी व्यहोरेको हो । तर, गत आवको पहिलो त्रैमासमा भने कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यद्यपि, चालु आवको तीन महिनामा कम्पनीको बिक्री आम्दानी भने ६.०६ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ७५ लाख  ८६ हजार रुपैयाँ पुर्‍याएको छ । तर, गत आवको सोही अवधिमा पनि कम्पनीको यस्तो आम्दानी १ अर्ब ५३ करोड ४५ लाख ३१ हजार रुपैयाँ रहेको थियो । तर, कम्पनीको अन्य आम्दानी पनि झन्डै दोब्बर (९३.२२ प्रतिशत) ले घटेर २ करोड १२ लाख रुपैयाँमा झरेको छ । यता,  कम्पनीको कुल खर्च पनि ७.९३ प्रतिशतले बढेर १ अर्ब ७० करोड २५ लाख रुपैयाँ पुगेको छ । तर, कुल आम्दानी भने  १०.७७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ कायम भएको छ । 

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यता, जगेडा तथा कोषमा भने ४ अर्ब ६२ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । गत वर्षको पहिलो त्रैमासमा २४ रुपैयाँ ९८ पैसा रहेको यस्तो आम्दानी यस वर्षको सोही अवधिमा भने ४ रुपैयाँ ८६ पैसा ऋणात्मक छ । यता, कम्पनीको प्रतिसेयर नेटवर्क पनि घटेर २०५ रुपैयाँ ५ पैसा कायम भएको छ।  


प्रतिक्रिया दिनुहोस्