अधिकांश फाइनान्स कम्पनीले नोक्सानी व्यहोर्दा पनि गोर्खाज र मल्टीपर्पसको मात्रै नाफामा कसरी देखियो चमक ? « Arthapath.com
२६ कार्तिक २०८०, आईतवार

अधिकांश फाइनान्स कम्पनीले नोक्सानी व्यहोर्दा पनि गोर्खाज र मल्टीपर्पसको मात्रै नाफामा कसरी देखियो चमक ?



काठमाडौँ । फाइनान्स कम्पनीहरूको पहिलो त्रैमास सुखद देखिएको छैन  । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीहरूले नोक्सानी व्यहोरेका छन् । 

वित्तीय विवरण अनुसार आठ वटा कम्पनीको खुद नाफा ऋणात्मक देखिएको छ । समीक्षा अवधिमा ७ वटा कम्पनी मात्रै नाफा देखिएका छन् । १५ वटा फाइनान्स कम्पनीको वित्तीय विवरणअनुसार गोर्खाज र मल्टीपर्पस फाइनान्सको मात्रै नाफा बढेको छ । त्यसबाहेक कम्पनीको भने घटेको छ । 

गत आवको पहिलो त्रैमासमा ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको मल्टीपर्पस फाइनान्सले यस वर्षको सोही अवधिमा भने १५.७४ गुणाले बढाएको छ । अर्थात् चालु आवको तीन महिनामा कम्पनीले ६५ लख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यता, गोर्खाज फाइनान्सले पनि खुद नाफा झन्डै दोब्बर अर्थात् ८५.१७ प्रतिशतले बढाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा आइपुग्दा भने उल्लेख्य सुधार भई ६ करोड १६ लाख रुपैयाँ पुगेको छ । 

अन्य कम्पनीहरूको घाटामा गएको बेला मल्टीपर्पस र गोर्खाज फाइनान्सले भने नाफामा उल्लेख्य वृद्धि गरेका छन् । विशषगरि यी दुई कम्पनीहरूको खुद ब्याज आम्दानी वृद्धि भएकाले नै नाफामा चमक देखिएको हो । 

समीक्षा अवधिमा मल्टीपर्पसको खुद ब्याज आम्दानी २९७.६६ प्रतिशतले वृद्धि भई १ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको सञ्चालन नाफामा पनि ५ लाख ७८ रुपैयाँबाट बढेर ६२ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । जसले कम्पनीको खुद नाफा वृद्धिमा ठुलो टेवा पुगेको हो । 

यस्तै, गोर्खाज फाइनान्सको खुद ब्याज आम्दानी पनि दोहोरो अङ्कले बढेर ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यता, सञ्चालनमा नाफामा भने चमक देखिएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ४ करोड ८५ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ८१.८९ प्रतिशतले बढाएर ८ करोड ८३ लाख रुपैयाँ पुर्‍याएको छ । 

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा भने मञ्जुश्री फाइनान्सले कमाएको छ । समीक्षा अवधिमा कम्पनीले ८ करोड २७ लाख  रुपैयाँ नाफा कमाएको हो । 

यस्तै, रिलायन्स फाइनान्सले पनि ५ करोड ३९ लाख, आइसीएफसीले ९३ लाख ७७ हजार, जानकीले ४ लाख र समृद्धि फाइनान्सले २ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएका छन् । यद्यपि, यी कम्पनीहरूको नाफा पनि गत आवको पहिलो त्रैमासको तुलनामा भने धेरै कम हो । 

अधिकांश कम्पनीहरू भने ऋणात्मक देखिएका छन् । सबैभन्दा धेरै ऋणात्मक प्रोग्रेसिभ फाइनान्स देखिएको छ । कम्पनी हाल ६ करोड ११ लाख रुपैयाँ नोक्सानीमा देखिएको हो ।  यस्तै, गुहेश्वरी मर्चेन्ट बैङ्क एन्ड फाइनान्स पनि ५ करोड ३९ लाख, पोखरा फाइनान्स ५ करोड ६१ लाख, नेपाल फाइनान्स २ करोड २ लाख,  बेष्ट फाइनान्स १ करोड ९८ लाख र समृद्धि फाइनान्स ९८ लाख रुपैयाँ ऋणात्मक छन् । 

विशेषगरि कम्पनीहरूको खराब कर्जा बढेकाले नै खुद नाफा प्रभावित बनेको छ । हाल कम्पनीहरूको औसत खराब कर्जा नै ६.३७ प्रतिशत माथि छ । नियामक निकाय नेपाल राष्ट्र बैङ्कको व्यवस्था अनुसार ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने कम्पनीहरू लाभांश बाँड्न नसक्ने अवस्थामा हुन्छन् । त्यो व्यवस्था अनुसार फाइनान्स कम्पनीहरूले सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा देखिएको हुन् । 

विवरणअनुसार जानकीको खराब कर्जा १७.६ प्रतिशत, प्रोग्रेसिभको १२.४५ प्रतिशत, नेपालको ११.७५ प्रतिशत, गोर्खाजको ९.८९, सेन्ट्रलको ७.४३, बेष्टको ५.४९, रिलायन्सको ४.९६, समृद्धिको ४.७९, गुहेश्वरीको ४.७२, पोखरा फाइनान्सको ४.१३, गुडविलको ३.९७, आइसीएफसीको ३.२३, मञ्जुश्रीको २.८५ प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्