चार महिनामा २२ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, विदेशी लगानीकर्ता पर्यटन क्षेत्रमा आकर्षित

काठमाडौँ । चार महिनामा २२ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्ममा सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको हो ।
उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा २२ अर्ब ८ करोड १५ लाख ६१ हजार रुपैयाँ बढी वैदेशिक लगानी प्रतिबद्धता भएको छ । विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् । समीक्षा अवधिमा १७८ वटा नयाँसहित २२३ वटा उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
कात्तिकका मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार कात्तिकमा २७ वटा नयाँसहित ४२ वटा उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
यस्तै, गत भदौ महिनामा पनि ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । त्यसैगरि गत असोजमा २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । असोजमा ४७ वटा नयाँ तथा पुराना उद्योगका लागि सो बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
चालु आवको चार महिनामा आएको वैदेशिक लगानी प्रतिविद्धताबाट ८ हजार ७७० जनाले रोजगारी पाउनेछन् । कात्तिक महिनामै भएको लगानी प्रतिविद्धताबाट भने १ हजार ९८ जनाले रोजगारी पाउने विभागले जनाएको छ।
हालसम्ममा भने ६ हजार ३७ वटा उद्योगका लागि कुल ४ खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । वैदेशिक लगानी प्रतिबद्धता जनाइएको उद्योगबाट भने ३ लाख १७ हजार ८६७ जनाले रोजगारी पाउनेछन् ।
साना उद्योगमा मात्रै धेरै लगानी प्रतिबद्धता
विभागको तथ्याङ्क अनुसार साना उद्योगमा मात्रै धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ। कात्तिक महिनामा मध्यम खालको उद्योगमा एक वटा मात्रै लगानी प्रतिबद्धता आएको छ । तर, ठुलो उद्योगका लागि लगानी प्रतिबद्धता नभएको विभागले जनाएको छ । यद्यपि, २६ वटा साना उद्योगका लागि भने लगानी प्रतिबद्धता भएको हो ।
चालु आवको चार महिनामा आएको लगानी प्रतिबद्धता मध्ये ठुलो उद्योगमा ३ वटा, मध्यमका खालको ५ वटा उद्योग रहेका छन् । विभागका अनुसार चार महिनामा कुल १७० वटा साना उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

पर्यटन क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता
वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ । चालु आवको चार महिनामा कुल लगानी प्रतिबद्धताको ४८ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको छ ।
विदेशी लगानीकर्ताहरू पर्यटन क्षेत्रमा आकर्षित देखिएका छन् । यस क्षेत्रमा चार महिनामा ८६ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएका छन् । कात्तिकमा मात्रै पर्यटन क्षेत्रका लागि आएको लगानी प्रतिबद्धता ५६ प्रतिशत रहेको छ । सो महिनामा कुल १५ वटा उद्योग पर्यटन क्षेत्रबाट दर्ता भएका छन् ।
विभागका अनुसार दोस्रो स्थानमा भने सेवा क्षेत्र रहेको छ । सो क्षेत्रमा ३९ प्रतिशत लगानी प्रतिबद्धता भएको छ । चालु आवको चार महिनामा यस क्षेत्रमा ६९ वटा उद्योग दर्ता भएका छन् । कात्तिक महिनामा मात्रै यसको हिस्सा ४४ प्रतिशत छ भने १२ वटा उद्योग यस क्षेत्रबाट दर्ता भएका छन् ।
यस्तै, उत्पादन क्षेत्रमा ७ प्रतिशत (१२ वटा), सूचना प्रविधिमा ३ प्रतिशत (५ वटा उद्योग), पूर्वाधार क्षेत्रमा २ प्रतिशत (४ वटा), र खनिज जन्य क्षेत्रमा १ प्रतिशत (१ वटा) वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।