पर्यटककाे आगमनले चम्कियो होटेल व्यवसाय, ७० प्रतिशत व्यापार बढ्दा कसले कति कमाए ?
काठमाडौँ । नेपालमा सञ्चालित ठुला तारे होटेलहरूको व्यापार वृद्धि भएको छ । व्यापारसँगै उनीहरूको नाफा पनि दोहोरो अङ्कको बढोत्तरी देखिएको छ ।
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटेल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनीहरू सूचीकृत सूचीकृत छन् । ती कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस क्षेत्रको व्यापार तथा नाफा बढेको देखिएको हो ।
नेप्सेमा सोल्टी होटेल, तारागाँउ रिजेन्सी, चन्द्रागिरि, सिटी होटेल, ओरियण्टल र कालिन्चोक दर्शन सूचीकृत छन् । यीमध्ये कालिन्चोक दर्शनले भने विवरण हालसम्म सार्वजनिक गरेको छैन । यता, सिटी होटेल भने पहिलो त्रैमासमा ७ करोड ७७ लाख रुपैयाँ बढी ऋणात्मक छ । यद्यपि, गत आवको सोही अवधिको तुलनामा भने होटेलले नोक्सानी घटाएको हो । गत आवको असोज मसान्तसम्ममा पनि यस होटेल ८ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा नै थियो ।
यी बाहेकका अन्य होटेलहरूको नाफा भने वृद्धि भएको छ । अन्य चार वटा होटेलले तीन महिनामै १८ करोड ५ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १२.१२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा पनि कम्पनीहरूले १६ करोड ९ लाख बढी नाफा कमाएको थिए । विशेषगरि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बढोत्तरी आएकाले नै कम्पनीहरू नाफा गएका छन् ।
पर्यटक आगमन र अन्य आर्थिक क्रियाकलाप बढेसँगै होटेलहरूको व्यापार बढेको छ । व्यापार बढेसँगै उनीहरूको नाफामा बढ्न पुगेको हो । अघिल्लो वर्षहरूमा पर्यटन व्यवसाय पनि नोक्सानीमा थियो । यसअघि होटेल व्यवसाय कोरोना महामारी, उच्च ब्याजदर लगायतको मार थियो । पर्यटक आगमन नहुँदा होटेल व्यवसाय घाटा चलिरहेका थिए । तर, पछिल्लो समय सहज वातावरण बनेको छ ।
नेपाल घुम्न आउने विदेशी पर्यटकको आगमन एकदमै बाक्लिन थालेको छ, आन्तरिक रूपमा पनि आर्थिक गतिविधिमा बढोत्तरी नै छ । जसले होटेलहरूको व्यापार बढेको हो । नेप्सेमा सूचीकृत ६ वटा होटेलहरूले तीन महिनामा १ अर्ब १६ करोड ५१ लाख ८९ हजार रुपैयाँ बढीको व्यापार गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा साढे ९ करोड बढी अर्थात् ६९.६५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा होटेलहरूले कुल १ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
अब आगामी दिनमा अझै बढ्ने व्यवसायीहरू बताउँछन् । नेपाल धेरै विदेशी पर्यटक आउने सिजन भनेको अक्टोबरदेखि मार्च, अप्रिलसम्म हो । त्यस बेला पर्यटक आगमन सङ्ख्या उच्च नै हुन्छ । त्यसपछि होटेल व्यवसाय झन् फस्टाउने अपेक्षा गरिएको छ। गत अक्टोबरमा मात्रै १ लाख १७ हजार बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
धेरै नाफा कमाउनेमा सोल्टी अगाडि, वृद्धिदरमा तारागाँउ रिजेन्सी
चालु आवको तीन महिनामा सबैभन्दा धेरै नाफा सोल्टी होटेलले कमाएको छ । कम्पनीले १० करोड २३ लाख बढी नाफा कमाएको हो । यद्यपि, गत आवको पहिलो त्रैमासको तुलनामा भने ८.६२ प्रतिशतले कमी हो । गत आवको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
पहिलो त्रैमासमा नाफा वृद्धिदरमा भने तारागाउँ रिजेन्सी होटेल पहिलो बनेको छ । कम्पनीले तीन महिनामै ७८.७० प्रतिशतले नाफा बढाएर ४ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । नाफा वृद्धिदरमा दोस्रो बनेको चन्द्रागिरि हिल्सले पनि ६३.०६ प्रतिशत बढाएर २ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । यता, ओरियण्टल होटेलको नाफा पनि १३.४६ प्रतिशतले बढेर १ करोड २७ लाख रुपैयाँ पुगेको छ।
व्यापार बढाउन भने तारागाँउ र सिटी होटेल अगाडी
समीक्षा अवधिमा व्यापार बढाउन भने तारागाँउ रिजेन्सी र सिटी होटेल अगाडी देखिएको छ । तारागाउँले तीन महिनामै २७.९३ प्रतिशतले व्यापार बढाएर २३ करोड २२ लाख कटाएको छ ।
दोस्रो स्थानमा रहेको सिटी होटेलले पनि २७.०७ प्रतिशतले बढाएर ११ करोड ५५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, रकमको आधारमा भने सोल्टी होटेलले धेरै व्यापार गरेको छ।
तीन महिनामा सोल्टीले ३९ करोड ९६ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । यस्तै समीक्षा अवधिमा ओरियण्टले २१ करोड १४ लाख र चन्द्रागिरि हिल्सले २० करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।