नेपालका दर्जन भन्सार बिन्दुबाट छैन निर्यात, कुन नाकाबाट कतिको हुन्छ वैदेशिक व्यापार ?

काठमाडौं । नेपालले चार महिनामा साढे ५ खर्ब बढीको कुल वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख बढी भएको छ ।
समिक्षा अवधिमा कुल ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । कात्तिकसम्ममा देशभरका २९ वटा भन्सार नाका मार्फत वैदेशिक व्यापार भएको छ ।
कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै आयात वीरजञ्ज कार्यालय मार्फत भएको छ। सो कार्यालय मार्फत ३३.७६ प्रतिशत आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालय मार्फत चार महिनामा भने २०.३१ प्रतिशत निर्यात भएको छ । समिक्षा अवधिमा वीरगञ्ज कार्यालयबाट कुल १ खर्ब ७३ अर्ब ३ करोड १५ लाख रुपैयाँ बराबरको आयात भएको छ भने सोही कार्यालय मार्फत १० अर्ब २६ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सो कार्यालय मार्फत गत आवभर पनि कुल ५ खर्ब ९३ अर्ब १७ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो भने ३६ अर्ब ६७ करोड ४८ लाख बढीको निर्यात भएको थियो ।
विभागका अनुसार भैरहवा भन्सार कार्यालय मार्फत चालु आवको चार महिनामा ७९ अर्ब ८५ करोड २१ लाख रुपैयाँ, विराटनगर कार्यालयबाट ५५ अर्ब ६८ करोड ६५ लाख र ड्राइपोर्ट मार्फत ७१ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । सोही अवधिमा यी कार्यालय मार्फत क्रमश: ४ अर्ब १७ करोड ४३ लाख, १० अर्ब १२ करोड ३४ लाख र १ अर्ब ५१ करोड ३० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।
निर्यातमा भने त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयको हिस्सा धेरै अर्थात् २५.५९ प्रतिशत रहेको छ । समिक्षा अवधिमा सो कार्यालय मार्फत ४६ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको आयात गरिएको छ भने १२ अर्ब ९४ करोड ५ लाख रुपैयाँ बराबरको सामान निर्यात गरिएको छ।
यस्तै, निर्यातमा धेरै हुनेमा मेची भन्सार कार्यालय पनि रहेको छ । सो कार्यालयबाट १६.०१ प्रतिशत अर्थात् ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। तर, सो कार्यालय मार्फत भने नेपालले कुल १३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ ।
चार महिनाको अवधिमा २९ वटा भन्सार कार्यालय मार्फत वैदेशिक व्यापार भएको देखिएता पनि १३ वटा कार्यालयको निर्यात भने शून्य देखिएको छ । पोखरा भन्सार कार्यालय, सिराह, सुनसरी, थादी, त्रिवेणी, राजविराज, जनकपुर, भद्रपुर लगायतका भन्सार कार्यालयबाट भने आयात मात्रै भएको छ । तर, निर्यात भएको भएको छैन ।
कुन भन्सार कार्यालयबाट कति भयो वैदेशिक व्यापार ?

