सबैलाई चकित पार्दै नेपाल बैंकको सीईओमा पाण्डेले मारे बाजी « Arthapath.com
६ पुष २०८०, शुक्रबार

सबैलाई चकित पार्दै नेपाल बैंकको सीईओमा पाण्डेले मारे बाजी



काठमाडौं । धेरैको अपेक्षा र अनुमान विपरित नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा तिलकराज पाण्डे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले पाण्डेलाई चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।

पाण्डे यसअघि नेपाल बैंकमा २४ वर्ष सेवा गरेर अवकाश पाएका व्यक्ति हुन् । त्यसपछि उनी भिवोर विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए । भिवोर र लुम्बिनि विकास बैंक मर्ज भएपछि उनी त्यहाँबाट बाहिरिएका थिए । पछिल्लो समय नेपाल बैंकिङ इस्टिच्युटमा आबद्ध रहँदै आएका थिए । पर्वतका पाण्डेलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सीईओ बनाइएको चर्चा छ ।

अर्थ मन्त्री डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक अशोक पौडेल र नेपाल बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत समता पन्तमध्ये एकजनालाई सीईओ बनाउने चर्चा यसअघि थियो । तर सीईओ छनोट समितिले लक्ष्मण पौडेल, समता पन्त र तिलकराज पान्डेको नाम सञ्चालक समितिमा पेश गरेको थियो । तिनैमध्येबाट पाण्डेलाई सीईओ नियुक्त गरिएको हो ।

बैंकले गत असोज २१ गते सिईओ नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । सिइओ बन्नका लागि १९ जनाले आवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्