रित्तिएका हिमालले दिँदै छन् संकटको संकेत, यो साल कीर्तिमानी स्तरमा घट्यो हिमपात « Arthapath.com
१४ माघ २०८०, आईतवार

रित्तिएका हिमालले दिँदै छन् संकटको संकेत, यो साल कीर्तिमानी स्तरमा घट्यो हिमपात



काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका चुचुराहरू सामान्यतया जाडो याममा हिउँको सेतो चादरले ढाकेका हुन्थे । तर यो साल विशेष गरी पश्चिमी हिमालयहरु उल्लेखनीय रूपमा खालि र उजाड देखिएका छन्। यसपालिको हिउँद निकै असामान्य भएको छ । यस क्षेत्रमा कि ज्यादै कम हिउँ परेको छ, कि हिउँ परेकै छैन । कम हिमपातले कृषिमा प्रत्यक्ष र गम्भीर असर पारेकोले किसान चिन्तित छन् । यो समस्या विशेष गरी हिन्दुकुश हिमालय क्षेत्रका बढी तीव्र देखिएको छ, जुन क्षेत्र कृषिमा असाध्यै धेरै निर्भर छ।

पर्वतीय क्षेत्रहरूमा हिउँ जीविकोपार्जनको महत्त्वपूर्ण स्रोत हो। हिउँ सामान्यतया मंसिरबाट जम्मा हुन थाल्छ । हिमपातको मौसम चैतको सुरुसम्मै जारी रहन्छ । हिउँको आवरणले सामान्यतया पर्वतीय क्षेत्रको कृषिलाई सुरक्षा कवचहको रुपमा काम गर्छ । यसले निष्क्रिय बालीहरूलाई जगाउँछ । वनस्पतिको जरा बढाउन मद्दत गर्छ । शीतको प्रवेशलाई रोक्छ र माटोलाई क्षयिकरण हुनबाट पनि बचाउँछ ।

तसर्थ, हिमालय क्षेत्रमा कम हिमपात र अनियमित वर्षाले पानी र कृषि वन लगायत क्षेत्रमा प्रतिकूल पारिस्थितिकीय प्रभाव पार्ने सम्भावना छ। नेपालको पर्यटन अधिकतर हिमालयसँग जोडिएको छ । हिमालहरु नांगिने शिलसिलाले नेपालजस्तो पर्वतीय मुलुकलाई सबैभन्दा धेरै प्रभाव पर्ने छ ।

अस्वाभाविक हिउँद

यसपालि सामान्य अवस्थाको तुलनामा कम हिमपात हुनुका पछाडी यस क्षेत्रमा बढ्दो औसत तापक्रम एक कारण हुनसन्छ । ‘यदी आउँदो दुई महिनामा त्यस क्षेत्रमा उल्लेख्य हिमपात भयो भने पनि अहिले रित्तिएको हिउँको परिपूरण गर्नमै अपुग हुनसक्छ’, इसिमोडका क्रायोस्फियर (हिम सतह) का विशेषज्ञ शेर मुहम्मदले भने ।

अहिले हिमपात कम हुँदा चैतपछि गर्मी बढ्न थालेका बेला हिमालयबाट बग्ने नदीहरुको बहाब घट्न सक्छ । बढ्दो तापक्रमले हिउँ पातलिएको छ । यसले गृष्ममा नदीको बहाव घटाउने छ । हिउँ पग्लेर आउने पानी घट्दा हाम्रा दर्जनौं नदीहरुमा निर्माण भएका जलविद्युत् आयोजनाहरुले पर्याप्त पानी पाउने छैनन् । खेतिका लागि यस्ता नदीबाट प्रयोग हुने पानीको आपूर्ति घट्ने छ । सुख्खा याममा पानीको उपलब्धता घट्दा यसले कृषि उत्पादनमा पनि नकारात्मक प्रभाव पार्ने छ ।

किसानलाई चिन्ता

पहाडी समुदाय पहिले नै बालिनाली नास हुने, पशुधनको मृत्यु हुने, घाँसको अभाव हुने, प्राकृतिक प्रकोपका कारण मावनीय एवम् धन हानी हुनेजस्ता कयौं समस्या भोग्दै आएका छन् । यस क्षेत्रमा विभिन्न समस्याका कारण मानिसहरुमा मनोवैज्ञानिक पीडा पनि एक चुनौतीको रुपमा देखिएको छ ।

यस्तो परिवेशमा वर्षौंपछि भोग्नु परेको असाध्यै सुख्खा हिउँदका कारण हिउँको सञ्चय ब्यापक मात्रामा घटेको छ । यसले आगामी वसन्त र गृष्म ऋतुमा पानीका स्रोतहरु अझ बढी सुकेर नयाँ तनाव सिर्जना हुने संभावना बढेको इसिमोडले उल्लेख गरेको छ । उसले यो पनि भनेको छ, ‘पहाडी भेगबाट बग्ने नदीहरु सुक्न थालेकाले पर्यावरणको भविष्य खतरातर्फ उन्मुख हुन थालेको छ ।’


प्रतिक्रिया दिनुहोस्