बढ्यो सेयर कारोबारबाट हुने बैङ्कहरूको आम्दानी: सानिमा, ग्लोबल र नबिलको धेरै, कुनको कमाई कति ? « Arthapath.com
१० असार २०८२, मंगलबार

बढ्यो सेयर कारोबारबाट हुने बैङ्कहरूको आम्दानी: सानिमा, ग्लोबल र नबिलको धेरै, कुनको कमाई कति ?



काठमाडौँ । वाणिज्य बैङ्कहरूको सेयर कारोबारबाट हुने आम्दानी वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैङ्कहरूले सेयर कारोबार ३ अर्ब १७ करोड ९ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका हुन् ।

सञ्चालनमा रहेका २० वटा बैङ्कहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस्तो आम्दानी गत वर्षको तुलनामा ७.१९ प्रतिशत बढेको हो । गत आवको पुस मसान्तसम्ममा बैङ्कहरूले सेयर कारोबारबाट २ अर्ब ९५ करोड ८२ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेका छन् । 

गत वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासमा आउँदा सेयर बजारमा केही बढोत्तरी आएको छ । सेयर बजारमा देखिएको बढोत्तरीले नै बैङ्कहरूको त्यस बापत हुने आम्दानी वृद्धि भएको हो । हाल बैङ्कहरूले चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा छ । सोही सुविधा मार्फत बैङ्कहरूले बजारमा गरेको लगानी नेट ट्रेडिङ्ग इनमकमा देखाउनुपर्ने हुन्छ । 

दोस्रो त्रैमासमा सबैभन्दा धेरै आम्दानी सानिमा बैङ्कको देखिएको छ । समीक्षा अवधिमा बैङ्कले सेयर कारोबारबाट ३० करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ११०.१३ प्रतिशत बढी हो । गत आवका सोही अवधिमा बैङ्कको यस्तो आम्दानी १४ करोड ४९ लाख रुपैयाँ रहेको थियो । 

दोस्रो स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले पनि २९ करोड ९१ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेको छ । तेस्रो सूचीमा भने ग्लोबल आइएमई बैङ्क देखिएको छ । बैङ्कले ६ महिनामा सेयर कारोबारबाट २९ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चौथो सूचीमा रहेको नबिल बैङ्कले पनि २५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । पाँचौँ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले पनि २२ करोड २१ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेको छ । यस्तै, समीक्षा अवधिमा कुमारी बैङ्कले २१ करोड ४४ लाख, हिमालयनले २० करोड ८५ लाख, प्रभुले १९ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

त्यसैगरि चालु आवको ६ महिनामा सेयर कारोबारबाट एभरेष्ट बैङ्कको १५ करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैङ्कका १२ करोड ८१ लाख, कृषि विकासको १२ करोड ६५ लाख, सिद्धार्थको १२ करोड ६२ लाख, एनएमबिको १२ करोड ३२ लाख, माछापुच्छ्रेको १२ करोड ७ लाख, लक्ष्मी सनराइजको ११ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । 

यता, प्राइम कमर्सियल बैङ्कको ६ करोड ७९ लाख, एनआईसी एशियाको ६ करोड ७१ लाख, नेपाल एसबिआईको ६ करोड ४८ लाख, नेपाल बैङ्कको ४ करोड ४८ लाख र सिटिजन बैङ्कको ३ करोड ९४ लाख रुपैयाँ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्