प्रिमियममा आइपिओ ल्याउन लागेको मारुती सिमेन्टको व्यापार १५ प्रतिशत घट्यो, चार वर्ष यताकै कम कारोबार  « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

प्रिमियममा आइपिओ ल्याउन लागेको मारुती सिमेन्टको व्यापार १५ प्रतिशत घट्यो, चार वर्ष यताकै कम कारोबार 



काठमाडौं । मारु ती सिमेन्टको व्यापारमा गिरावट देखिएको छ । कम्पनीको व्यापार एकै वर्ष झन्डै १५ प्रतिशत घटेको हो । 

प्रिमियम मूल्यमा आइपिओ ल्याउन लागेको कम्पनीको व्यापारमा सङ्कुचन देखिएको छ । कम्पनीले १ करोड १६ लाख कित्ता आइपिओ बिक्री गर्न नेपाल धितो पत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता ३७७ रुपैयाँको दरले आइपिओ ल्याउन लागेको हो । 

ओपिसि सिमेन्टको उत्पादन गरिरहेको छ भने पिपिसि सिमेन्टको उत्पादनमा पनि काम गरिरहेको छ । कम्पनीले सन् २०२३ मा कुल ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो अघिल्लो वर्ष सन् २०२२ को तुलनामा भने १४.७४ प्रतिशत कमी हो । अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब ९७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

कम्पनीको गत वर्षको व्यापार चार वर्ष यताकै कम हो । पछिल्लो चार वर्षमा कम्पनीको कुल व्यापार २९ अर्ब २२ करोड रुपैयाँ बराबरको छ । सन् २०१९ को तुलनामा पनि गत वर्षको कम्पनीको व्यापार ४३.४५ प्रतिशत घटेको छ । विशेषगरि निर्माणजन्य गतिविधिमा देखिएको सुस्तताले समग्र सिमेन्ट व्यापार नै घटेको छ । यसले कम्पनीको व्यापार पनि प्रभावित बनेको हो । आर्थिक मन्दीकै कारण विकास निर्माणमा पनि बढ्न सकिरहेको छैन, समग्र सिमेन्टको माग नै घटेको छ । 

सन् २०१९ मा ७ अर्ब ५० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२० मा ५ अर्ब ३१ करोड १० लाख, २०२१ मा ६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, २०२१ पछि नै कम्पनीको व्यापारमा कमी आएको देखिन्छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आइआर बीबीबी रेटिङ प्रदान गरेको छ । 

कम्पनीले सन् १९९४ बाट नेपालमा सिमेन्ट उत्पादन तथा क्लिंकर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २००८ मा सिराहाको गोल बजारमा दैनिक ६०० टन क्लिङ्कर  सन र ५०० टन क्षमताको ग्राइन्डिंग स्टेसन राखेको थियो । तर, यसको क्षमता हाल बढेर क्लिङ्करको दैनिक १ हजार ५०० टन र ग्राइन्डिंग दैनिक २ हजार टन हुने गरेको छ।  

कम्पनीले समय र बजार माग अनुसार नै आफ्नो कारखानाको क्षमता समेत बढाउँदै आएको छ । हाल उद्योगको क्षमतालाई बढाएर ३३ सय टन प्रतिदिनको क्लिकंर उत्पादन र ४ हजार टन प्रतिदिनको ग्राइन्डिंग क्षमतामा विस्तार गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्