अस्तव्यस्तताको उदाहरण बन्यो लगानी सम्मेलन, लगानीकर्तालाई पहिलो गाँसमै ढुङ्गा « Arthapath.com
१६ बैशाख २०८१, आईतवार

अस्तव्यस्तताको उदाहरण बन्यो लगानी सम्मेलन, लगानीकर्तालाई पहिलो गाँसमै ढुङ्गा



काठमाडौँ । दुई वर्षभन्दा लामो समयदेखि सुस्त रहेको आन्तरिक अर्थतन्त्रलाई गतिमान बनाउने ठूलो अभिलाषा बोकेको लगानी सम्मेलनको व्यवस्थापनमा कयौँ कमजोरी देखिएका छन् । लगानी बोर्ड नेपालले तेस्रो लगानी सम्मेलनको ‘इभेन्ट म्यानेजमेण्ट’ गर्ने जिम्मा इमेजिङ प्रालिलाई दिएको छ । यसअघिका दुबै लगानी सम्मेलनमा पनि यही कम्पनीले काम गरेको थियो ।

तर उसले अतिथि तथा आगन्तुकको व्यवस्थापनमा गम्भीर लापरबाही गरेको गुनासो सहभागिले गरेका छन् । देशकै ठूलोमध्येको एक सोल्टी होटेलमा आयोजित उक्त सम्मेलनमा प्रवेश र पार्किङदेखि नै समस्या भएको थियो ।

होटेलले पर्याप्त पार्किङ उपलब्ध गराउन सकेको थिएन भने आयोजकले थप पार्किङको व्यवस्था नगर्दा वरपर चारैतिरका सडकमा गाडी पार्किङ गरिएको थियो । त्यसले कार्यक्रमका सहभागिलाईमात्रै नभइ अन्य सर्वसाधारणले समेत सास्ती खेप्नु परेको थियो ।

आयोजकको अर्को समस्या ‘रजिस्ट्रेशन’मा देखियो । १६०० हाराहारीको सहभागिता हुने कार्यक्रममा परिचयपत्र बाँड्न पर्याप्त व्यवस्था भएन । स्वदेशी सहभागिहरुमात्र होइन, विदेशी पाहुनाले पनि परिचयपत्र पाउन सकेनन् । कयौँ विदेशी पाहुनाहरु प्रवेश पास बाँड्ने कार्ड र होल्डर (डोरी) नपाएर छातिमा स्टिकर टाँसेर हिँडेका थिए । कतिपयले मोबाइल फोनमा त कतिपयले आफ्नै ‘अफिसियल’ परिचय पत्रमा पनि पछाडिपट्टी यस्तो स्टिकर टाँस्नु पर्यो । कसैसँग कार्ड थिएन, कसैलाई डोरी थिएन त कतिपयलाई केही पनि थिएन ।

उद्घाटन समारोहमा राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै आएकी बरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनादेखि अन्य कतिपय सरकारी अधिकारीहरु पनि कार्यक्रम स्थलमा प्रवेश नै गर्न पाएनन् । उनीहरुको नाम रजिस्ट्रेशन नभएको भनेर आयोजकले भित्रै छिर्न दिएन । अतिथिहरुको सूची तयार पार्ने र उनीहरुको नाम रजिस्ट्रर गर्ने जिम्मा आयोजककै हो ।

विद्युत् व्यवस्थापन अर्को समस्या भयो । लगानीको प्रतिबद्धता संकलन गर्न आयोजित समारोहमै १५–२० मिनेटसम्म निरन्तर विद्युत् अभाव भइरह्यो । यसले प्रवेश पास वितरण गर्ने कामदेखि चौरमा निर्माण गरिएका अस्थायी हल (पालका घर)हरुमा बसेका सयौँ पाहुनालाई मुख्य हलमा भइरहेको कार्यक्रमबारे अन्योलमा राखिको थियो ।

सहभागीहरु तातोपानी र चिया खोजेर भौँतारिइरहेका थिए । त्यसतर्फ पनि आयोजकले उचित व्यवस्थापन गर्न सकने । स्टलहरुको व्यवस्थापनमा पनि पर्याप्त स्थान थिएन । गाउँगाउँबाट उत्पादित सामग्री बोकेर सम्मेलनस्थल आएका साना व्यवसायीहरु खासै मान्छेको आँखा नपर्ने ठाउँमा थिए । को कता जाने र कता बस्ने भन्ने अन्योल भइ नै रह्यो ।

यति अस्तव्यस्त अवस्था आयो कि, एक प्रतिष्ठित व्यवसायी शशिकान्त अग्रवालले पत्रकारहरुसँग भनेका थिए, ‘यो देशको दरिद्रताको चित्र आजको भद्रगोलले देखाएको छ ।’ सहभागिहरु भद्रगोल आयोजनबाट हैरान थिए । सहभागिमात्रै होइन, स्वयम् नेपाल इन्भेष्टमेन्ट बोर्डका अधिकारीहरु पनि ‘इभेन्ट म्यानेजर’को भूमिका र अक्षम व्यवस्थापनमा रुष्ट देखिन्थे ।

लगानी सम्मेलनमा सहभागि हुनेहरु सबै लगानीकर्ता होइनन् । धनी र लगानीकर्ताहरु पनि नेपालमा प्रतिबद्धतामात्रै जनाएर वर्षौँ हराउने गरेको अघिल्ला सम्मेलनको अनुभवले पनि बताउँछ । तर सहभागी सयौँ व्यक्तिको भीडका १०–२० जना वास्तवमै लगानी गर्न इच्छुक थिए भने पनि उनीहरुले नेपालको व्यवस्थापन शैली र सामथ्र्यबारे एक खराब छाप प्राप्त गरेका छन् ।

यस अघिका दुई वटा लगानी सम्मेलनको अनुभव बटुलेको कम्पनीको उक्त व्यवस्थापन शैलीले लगानीकर्तालाई ‘पहिलो गाँसमै ढुङ्गा’ दिएको छ । अव्यवस्थाले आजित भएका सहभागिहरु लामो समय टिक्न सकेनन् । त्यसैले त देशकै एक महाकुम्भ मानिएको यो मेलामा दिन ढल्किँदै जाँदा हलहरु पनि रित्तिँदै गएका थिए ।


प्रतिक्रिया दिनुहोस्