६७ प्रतिशत बढ्यो कामना सेवा विकास बैंकको नाफा, यो वर्ष कति दिन सक्छ लाभांश ? « Arthapath.com
९ श्रावण २०८१, बुधबार

६७ प्रतिशत बढ्यो कामना सेवा विकास बैंकको नाफा, यो वर्ष कति दिन सक्छ लाभांश ?



काठमाडौं । कामना सेवा विकास बैंकले अधिकांश सूचकहरुमा उल्लेख्य सुधार गरेको छ । एकै वर्षमा बैंकको नाफा झन्डै ६७ प्रतिशत बढेको छ ।

बैंकले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष बैंकले ६० करोड ३२ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा नाफा ६६.९३ प्रतिशत बढाएको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३६ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेर २ अर्ब १२ करोड ५२ लाख १७ हजार रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा पनि ५३.०८ प्रतिशत बढेर ९७ करोड ८४ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी सामान्य बढे पनि बैंकको इम्पेरमेन्ट चार्ज घटेको छ । इम्पेरमेन्ट चार्ज घटेसँगै बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष ५२ करोड २६ लाख ९२ हजार रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर ३० करोड ४० लाख रुपैयाँ कायम भएको छ ।

यो वर्ष बैंकले दोहोरो अंकमा लाभांश दिन सक्ने वितरणयोग्य नाफा आर्जन गरेको । गत आर्थिक वर्षमा बैंकको कुल वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार रुपैयाँ छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाइ १०.९१ प्रतिशत लाभांश दिने सामार्थ्य राख्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने १६४ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ भने जगेडा कोषमा २ अर्ब ११ कराोड ५६ लाख रुपैयाँ राखेको छ ।

गत वर्ष बैंकको निक्षेप संकलन पनि दोहोरो अंकले (१०.४६ प्रतिशत) बढेको छ। अघिल्लो आवमा ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष भने बढेर ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको कर्जा प्रवाह पनि ४.७७ प्रतिशत बढेर ४५ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्