घट्न थाल्यो नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स, विदेशी कामदारले कति लैजान्छन् ? « Arthapath.com
६ भाद्र २०८१, बिहीबार

घट्न थाल्यो नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स, विदेशी कामदारले कति लैजान्छन् ?



काठमाडौं । विदेशी कामदारहरुले रेमिट्यान्स मार्फत नेपालबाट एक वर्षमा ६ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आवमा नेपालबाट कुल ६ अर्ब ६ करोड २ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको हो । जुन अघिल्लो आवको तुलनामा भने ८.३५ प्रतिशत कमी हो । अघिल्लो आवमा पनि नेपालबाट ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । गत आवमा नेपालबाट ४ करोड ५६ लाख अमेरिकी डलर रेमिट्यान्स बाहिरिएको हो । अघिल्लो आवमा पनि नेपालबाट ५ करोड ६ लाख डलर रेमिट्यान्स बाहिरिएको राष्ट्र बैंकको आँकडा छ।

नेपालमा विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउँछन् । उनीहरुले आफुले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । तर, कुल कमाइएको २५ प्रतिशत भने नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ । हाल नेपालमा ठुलो संख्यामा भारतीय कामदारहरु छन्, उनीहरुले नेपालमा अनौपचारिक रुपमा काम गर्दै आएका छन् । आफूले कमाएको रकम सिधै आफ्नो देशमा लैजान्छन् । यसरी लैजाने रकमको भने कुनै तथ्याङ्क छैन ।

नेपालबाट वर्षेनि अरबौं रकम बाहिरिने गरेको छ । नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका विदेशी कामदारले पठाउने रेमिट्यान्सको आँकडा भने समावेश छैन । नेपालमा ठुलो संख्यामा भारतीय नागरिकहरुले चटपट, फलफूल तथा तरकारी बिक्री गर्दै आएका छन् । यसकासाथै सडक तथा निर्माणजन्य काममा पनि भारतीय नागरिकहरुकै दबदबा छ । उनीहरूले आफूले कमाएको पैसा अनौपचारिक रूपमै लैजाने गरेका छन् । यसरी अनौपचारिक रुपमा बाहिरिने रकमको भने कुनै तथ्याङ्क छैन ।

हाल नेपालका ठुला ठुला आयोजना तथा विदेशी लगानीका कम्पनीहरुमा विदेशी नै कर्मचारीहरु छन् । विशेषगरि जलविद्युत आयोजनाहरुमा ठुलो संख्या विदेशी कर्मचारी आउने गरेका छन् । अधिकांश जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । ती कामदारहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन् ।

अघिल्ला वर्षहरुको तुलनामा नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्सको आँकडा घट्दो देखिएको छ। आर्थिक शिथिलताका कारण नेपालमा ठुला आयोजना लगायतका निर्माणका गतिविधि बढ्न सकेको छैन । पूर्वाधार विकास निर्माणका काम वृद्धि हुन नसक्दा नै विदेशी कामदारले नेपालबाट लैजाने रेमिट्यान्स घटेको हो ।

आर्थिक शिथिलताकै कारण नेपालमा रोगारी वृद्धि हुन सकिरहेको छैन । यस्ता कारण पनि बाहिरिने रेमिट्यान्स घटेको अनुमान छ। अघिल्लो आव २०७८-७९ मा पनि ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । त्यसअघि २०७७-७८ मा भने ६ अर्ब १ करोड ८५ लाख रेमिट्यान्स बाहिरिएको थियो ।

१६ प्रतिशत बढ्यो नेपाल भित्रने रेमिट्यान्स, एर्क वर्ष साढे १४ खर्ब भित्रियो

नेपालबाट बाहिरिने रेमिट्यान्स घटेपनि भित्रिने रकम भने निरन्तर बढ्दो क्रममा छ । गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन अघिल्लो आवको तुलनामा १६.५ प्रतिशत बढी हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आवमा पनि १२ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । गत आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्