महिनैपिच्छे घट्दै बैंकहरुको आधार दर: पुराना ऋणी र नयाँ कर्जा लिनेलाई ब्याजभार कम, कुनको कति ? « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

महिनैपिच्छे घट्दै बैंकहरुको आधार दर: पुराना ऋणी र नयाँ कर्जा लिनेलाई ब्याजभार कम, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घटीरहेको छ । असोज महिनामा पनि ०.२२ प्रतिशत बिन्दुले घटेको छ । गत भदौ महिनामा पनि बैंकहरुका औसत आधार दर ७.९१ प्रतिशत रहेको थियो । तर, असोजमा भने थप घटेर ७.६९ प्रतिशत कायम भएको छ ।

हाल बैंकहरुको आधार दर ६ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । २० वटै बैंकहरुको आधार दर महिनैपिच्छे घटीरहेको छ ।
बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर घटेको हो ।

हाल असोजमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशत कायम भएको छ। यता, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ६.३७ प्रतिशत बिन्दुमा झरेको छ । यी दुई बैंकसहित १४ वटा बैंकको आधार दर ८ प्रतिशत तल छ ।

आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ, आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैंकहरुको आधार दर अनुसार नै ऋणको ब्याज सस्तो र महँगो हुने संकेत गर्दछ । कम आधार दर भएका बैंकबाट ऋण लिँदा सस्तो ब्याज पर्न जान्छ । आधार दर घट्दा पुराना ऋणी र नयाँ ऋण लिने ग्राहकलाई कर्जाको ब्याजभार कम हुन्छ ।

यद्यपि, बैंक र कर्जाको प्रकृति अनुसार भने फरक पनि पर्छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधर दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यद्यपि, हाल बैंकहरुले कर्जा लगानी विस्तारका लागि कम प्रिमियम तोकको छ । कतिपय बैंकहरुले ०.२५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउने स्किम समेत ल्याएका छन् । बैंकहरुको ब्याजदर घटेपनि कर्जा माग भने बढ्न सकेको छैन । आर्थिक शिथिलताका कारण कर्जाको माग न्युन हुँदा निरन्तर ब्याजदर घटीरहेको छ ।

असोजका लागि एभरेष्ट बैंकको आधार दर ७.०४ प्रतिशत, नबिलको ७.२४ प्रतिशत, नेपाल बैंकको ७.२८ प्रतिशत, ग्लोबल आइएमईको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.४९ प्रतिशत कायम भएको छ ।

यता, कृषि विकास बैंकको आधार पनि ७.६४ प्रतिशत, सानिमाको ७.६५ प्रतिशत, एनएमबिको ७.७२, सिद्धार्थको ७.७४ प्रभुको ७.७७, माछापुच्छ्रेको ७.८, नेपाल एसबिआईको ७.९१ प्रतिशत छ ।

त्यसैगरि लक्ष्मी सनराइजको ८.१७ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, प्राइम कमर्सियलको ८.३५ प्रतिशत, हिमालयनको ८.३९, कुमारीको ८.४६ र एनआइसी एशिया बैंकको ९.०६ प्रतिशत रहेको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्