एनआइसी र चार्टर्डको सम्पत्ति घट्यो: धनीको बैंकको शीर्ष सूचीमा ग्लोबल र नबिलसहित चार बैंक, कसको कति ? « Arthapath.com
२२ कार्तिक २०८१, बिहीबार

एनआइसी र चार्टर्डको सम्पत्ति घट्यो: धनीको बैंकको शीर्ष सूचीमा ग्लोबल र नबिलसहित चार बैंक, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको सम्पत्ति साढे ७ खर्ब वृद्धि भएको छ । योसँगै वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७१ खर्ब नाघेको छ ।

गत आवको पहिलो त्रैमासमा बैंकहरुसँग कुल ६३ खर्ब ८२ अर्ब ८ करोड ७१ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको थियो । तर, चालु आवको असोज मसान्तसम्ममा आइपुग्दा भने ७ खर्ब ४५ अर्ब ६० करोड बढेर ७१ खर्ब २७ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरणहरुलाई लिने गरिन्छ । साथै अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सम्पत्ति घटेको छ । एनआइसीको सम्पत्ति गत आवको तुलनामा बैंकको सम्पत्ति ३६ अर्ब १० करोड ४९ लाख रुपैयाँ घटेको छ । पहिलो त्रैमासमा आइपुग्दा बैंकसँग ३ खर्ब ९३ अर्ब २७ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । यता, स्ट्याण्डर्ड चार्टर्डको पनि ९ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ घटेर १ खर्ब ४२ अर्ब ७० करोड १२ लाख रुपैयाँ कायम भएको छ ।

सबैभन्दा धनीको पहिलो सूचीमा भने ग्लोबल आइएमई छ । बैंकसँग कुल ६ खर्ब २७ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १४.८२ प्रतिशत अर्थात् ८० अर्ब ९८ करोड ५४ लाख रुपैयाँ बढेको हो ।

धनि बैंकको दोस्रो सूचीमा रहेको भने नबिल बैंक छ । बैंकसँग ५ खर्ब ८४ अर्ब १९ करोड १४ लाख पुगेको छ । यो गत आवको तुलनामा १६.२ प्रतिशत बढी हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग ५ खर्ब २४ अर्ब ५४ करोड ६३ लाख, राष्ट्रिय वाणिज्य बैंकसँग ५ खर्ब ३ अर्ब ८० करोड ७ लाख, कुमारीसँग ४ खर्ब ४४ अर्ब २३ करोड ८२ लाख र लक्ष्मी सनराइज बैंकसँग ४ खर्ब ८ अर्ब २५ करोड ९१ लाख रुपैयाँ सम्पत्ति छ ।

यता, हिमालयनको सम्पत्ति ३ खर्ब ९२ अर्ब ७४ करोड ५३ लाख, प्रभूको ३ खर्ब ६९ अर्ब ४९ करोड २० लाख, नेपाल बैंकको ३ खर्ब ४४ अर्ब ४३ करोड ५८ लाख, कृषि विकास ३ खर्ब २९ अर्ब ७५ करोड २ लाख, एनएमबिको ३ खर्ब २० अर्ब ९ करोड ५९ लाख, सिद्धार्थको ३ खर्ब १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ छ ।

त्यसैगरि एभरेष्ट बैंकको सम्पत्ति २ खर्ब ८९ अर्ब ४ करोड ११ लाख, प्राइमको २ खर्ब ७६ अर्ब ३० करोड १९ लाख, सानिमाको २ खर्ब ३६ अर्ब ३८ करोड ८१ लाख, सिटिजन्सको २ खर्ब २५ अर्ब १२ करोड ७८ लाख, नेपाल एसबिआईको २ खर्ब १५ अर्ब ५६ करोड ७० लाख र माछापुच्छ्रेको १ खर्ब ९९ अर्ब ६ करोड २४ लाख रुपैयाँ छ ।

कुन बैंक कति धनि ? रकम हजारमा

स्रोतः सम्वन्धित बैंकहरुले प्रकाशन गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्