सेयर कर्जा प्रवाह बढाउन थाले बैंकहरु : कुमारी र ग्लोबल आइएमई एग्रेसिभ, हिमालयन र एनआइसीले घटाए
काठमाडौं । बैंकहरु सेयर कर्जा विस्तारमै केन्द्रित देखिएका छन् । एक महिनामै बाणिज्य बैंकहरुले ५ अर्ब बढी सेयर कर्जा विस्तार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको असोज मसान्तसम्म आइपुग्दा ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । यो गत भदौ मसान्तसम्मको तुलनामा भने ६.४१ प्रतिशत बढी हो । गत भदौ मसान्तसम्ममा भने बैंकहरुले ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
असोज महिनामा मात्रै बैंकहरुले ५ अर्ब ६ करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
असोजमा एनआइसी एशिया र हिमालयन बैंकले सेयर धितो कर्जा घटाएका छन् । यी दुई बैंकको सेयर धितो कर्जा क्रमशः २६ करोड ६६ लाख र ५ करोड २ लाख रुपैयाँ घटेको देखिन्छ । यी बाहेकका अन्य बैंकहरुले भने बढाएका छन् ।
असोजमा सबैभन्दा धेरै सेयर कर्जा कुमारी बैंकले दिएको छ । सो बैंकबाट लगानीकर्ताले सेयर किन्नका लागि १ अर्ब १३ करोड ५४ लाख रुपैयाँ कर्जा लगेका छन् । असोज मसान्तसम्म आइपुग्दा भने बैंकले कुल ७ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । यो गत भदौ मसान्तसम्मको तुलनामा भने १७.२० प्रतिशत बढी हो ।
यस्तै, ग्लोबल आइएमई बैंकबाट पनि लगानीकर्ताले १ अर्ब १३ करोड ५४ लाख रुपैयाँ सेयर कर्जा लगेका छन् । गत भदौ मसान्तसम्मको तुलनामा यो ११.०५ प्रतिशत बढी हो ।
यता, सिद्धार्थ बैंकले पनि असोजमा मात्रै ५७ करोड ३२ लाख र प्रभू बैंकले ५५ करोड २४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, नबिल बैंकले ४३ करोड ६२ लाख, सिटिजन २९ करोड ७५ लाख, प्राइमले २४ करोड ३६ लाख, नेपाल बैंकले २३ करोड ७० लाख, एनएमबिले १६ करोड ४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १५ करोड ८२ लाख, सानिमाले १० करोड ७६ लाख, लक्ष्मी सनराइजले १० करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यता, कृषि विकास बैंकले ९ करोड ७९ लाख, एभरेष्ट बैंकले ८ करोड २० लाख, राष्ट्रिय बाणिज्य बैंकले ५ करोड ८६ लाख, माछापुच्छ्रे ५ करोड १७ लाख, नेपाल एसबिआईले १ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।