बैंकहरुको व्यवसाय : निक्षेप भित्र्याउने र कर्जा लगानी विस्तारको मामलामा कुनको अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगान विस्तार दुवैमा गिरावट देखिएको छ । आधा भन्दा बढी बैंकहरुको निक्षेप संकलन घटेको छ, आधा दर्जन बैंकको कर्जा विस्तार पनि खुम्चिएको छ ।
नेपाल बैंकर्स संघबाट प्राप्त गत कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिकमा बैंकहको निक्षेप १८ अर्ब ५५ करोड रुपैयाँ घटेको छ । गत असोज अन्तमा बैंकहरुले कुल ५९ खर्ब २२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, कात्तिक पनि यस्तो निक्षेप २.८३ प्रतिशत घटेर ५९ खर्ब ३ अर्ब ५७ करोडमा झरेको छ ।
कात्तिकमा ११ वटा बैंकहरुको निक्षेप घटेको देखिन्छ । सबैभन्दा धेरै एनआइसी एशिया बैंकको २५ अर्ब ७४ करोड रुपैयाँ निक्षेप घटेको छ । गत असोज अन्तमा बैंकसँग कुल ३ खर्ब ४२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप थियो । तर, कात्तिकमा भने घटेर ३ खर्ब १६ अर्ब ९७ करोड कायम भएको छ ।
यस्तै, हिमालयन बैंकबाट पनि १३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप गायब भएको छ । असोजमा बैंकसँग कुल ३ खर्ब ३१ अर्ब २८ करोड निक्षेप रहेको थियो । तर, कात्तिकमा भने घटेर ३ खर्ब १७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ ।
कात्तिकमा एनएमबि बैंकको निक्षेप पनि ७ अर्ब ३९ करोड रुपैयाँ, प्रभूको ५ अर्ब १ करोड रुपैयाँ, नबिलको २ अर्ब ६ करोड, प्राइमको १ अर्ब १० करोड, लक्ष्मी सनराइजको ९७ करोड, माछापुच्छ्रेको ७९ करोड, सिद्धार्थको ६ करोड र सिटिजन बैंकको ५० करोड घटेको देखिन्छ ।
तर, यी बाहेकका बैंकहरुको निक्षेप भने बढेको छ । कात्तिकमा निक्षेप बढाउन स्ट्याण्डर्ड चार्टर्ड पहिलो सूचीमा छ । बैंकले सबैभन्दा धेरै १२ अर्ब ६७ करोड निक्षेप संकलन गरेको छ। योसँगै बैंकसँग कुल १ खर्ब २८ अर्ब २८ करोड रुपैयाँ निक्षेप पुगेको छ । निक्षेप बढाउने मामिलामा राष्ट्रिय वाणिज्य बैंक पनि अघि नै देखिएको छ। कात्तिकमा बैंकको निक्षेप ९ अर्ब ८८ करोड बढेर ४ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
यस्तै, एभरेष्ट बैंकको निक्षेप पनि ५ अर्ब १७ करोड, नेपाल एसबिआईको ४ अर्ब ९६ करोड, नेपाल बैंकको ३ अर्ब ९७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ३१ करोड, सानिमाको १ अर्ब ७४ करोड, कुमारीको १ अर्ब ३६ करोड, कृषि विकासको ८७ करोड रुपैयाँ बढेको छ ।
आधा दर्जन बैंकको कर्जा लगानी घट्यो, एनएमबि र ग्लोबलसहित यी बैंकले बढाए
कात्तिकमा अधिकांश बैंकको कर्जा लगानी भने बढेको देखिएको छ । हाल संचालनमा रहेका मध्ये ६ वटा बैंकको मात्रै कर्जा विस्तारमा गिरावट देखिएको छ ।
आर्थिक शिथिलताकै कारण अझै कर्जाको माग न्युन छ । निक्षेपको तुलनामा कर्जा प्रवाह सुस्त नै देखिएको छ ।
गत असोजको तुलनामा समग्रमा २ अर्ब ५ करोड घटेको छ । योसँगै कात्तिक बैंकहरुको कुल कर्जा लगानी ४६ खर्ब ७९ अर्ब ९१ करोड कायम भएको छ । गत असोजमा भने बैंकहरुको यस्तो कर्जा ४६ खर्ब ८१ अर्ब ९६ करोड थियो ।
सो महिनामा एनआइसी एशिया व्यवसाय विस्तारमा पछाडि छ । बैंकको कर्जा लगानी एकै महिना ९ अर्ब ६२ करोड रुपैयाँ घटेको छ । यस्तै, स्ट्यान्डर्ड चार्टर्डको कर्जा लगानी पनि २ अर्ब ७४ करोड, प्रभूको १ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ५० करोड, कृषि विकासको १ अर्ब १४ करोड र नेपाल एसबिआईको पनि १ अर्ब ६ करोड घटेको देखिन्छ ।
कर्जा विस्तारमा एनएमबि र ग्लोबल आइएमई तगडा देखिएका छन् । कात्तिकमा यी दुई बैंकले क्रमशः २ अर्ब २७ करोड र २ अर्ब १३ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
यस्तै, नेपाल बैंकले १ अर्ब ७५ करोड, सानिमाले १ अर्ब ७४ करोड, सिद्धार्थले १ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब १२ करोड, प्राइमको १ अर्ब करोड, एभेष्टको ९५ करोड, हिमालयनको ९१ करोड, माछापुच्छ्रेको ८५ करोड, नबिलको ७६ करोड, लक्ष्मी सनराइजको ५७ करोड, कुमारीके ३५ करोड, सिटिजनको १४ करोड रुपैयाँ बढेको छ ।