व्यवसायमा तगडा देखिए दुई सरकारी बैंक, निक्षेप संकलन र कर्जा विस्तारमा कुन बैंकको अवस्था कस्तो ? « Arthapath.com
८ पुष २०८१, सोमबार

व्यवसायमा तगडा देखिए दुई सरकारी बैंक, निक्षेप संकलन र कर्जा विस्तारमा कुन बैंकको अवस्था कस्तो ?



काठमाडौं । निक्षेप संकलनको मामलामा राष्ट्रिय वाणिज्य बैंक शीर्ष सूचीमा देखिएको छ । बैंकले एक महिना साढे २१ अर्ब निक्षेप भित्र्याएको छ ।

नेपाल बैंकर्स सघंबाट प्राप्त चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको आँकडाले यस्तो देखाएको हो । मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आएको छ । कात्तिकमा निक्षेप र कर्जा लगानी दुवै घटेको थियो ।

तर, मंसिर महिनामा बैंकहरुको औसत निक्षेप ३३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ । मंसिरमा ८ वटा बाहेकका सबै बैंकले निक्षेप संकलन बढाएका छन् ।

निक्षेप भित्र्याउन राष्ट्रिय वाणिज्य बैंक अघि देखिएको छ । सो महिनामा बैंकको निक्षेप २१ अर्ब ४८ करोड रुपैयाँ बढेर ४ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यस्तै, नेपाल बैंकको निक्षेप पनि ११ अर्ब ३१ करोड रुपैयाँ बढेर ३ खर्ब नाघेको छ ।

धेरै निक्षेप भित्र्याउनेको तेस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) देखिएको छ । बैंकले मंसिर थप ९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप बढाएर ४ खर्ब ४८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

सो महिनामा नबिल बैंकको निक्षेप पनि ७ अर्ब ६५ करोड, प्राइमको ५ अर्ब ९० करोड, लक्ष्मी सनराइजको ५ अर्ब ६३ करोड, सानिमाको ३ अर्ब ४० करोड, ग्लोबल आइएमईको २ अर्ब ९ करोड, एभरेष्टको १ अर्ब ५० करोड, सिटिजनको १ अर्ब ४१ करोड र प्रभू बैंकको १ अर्ब २१ करोड रुपैयाँ वृद्धि भएको छ। यता, सिद्धार्थको बैंकको १९ करोड मात्रै निक्षेप बढेको देखिन्छ ।

मंसिरमा एनआइसी एशियासहित ८ वटा बैंकको निक्षेप घटेको देखिन्छ । सो अवधिमा एनआइसी एशियाको ११ अर्ब ४३ करोड रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ । यस्तै, हिमालयन बैंकको निक्षेप पनि ९ अर्ब ४७ करोड, स्ट्याण्डर्ड चार्टर्डको ४ अर्ब ७४ करोड, कृषि विकासको ३ अर्ब ८० करोड कुमारीको ३ अर्ब ५७ करोड रुपैयाँ घटेको छ ।

यता, माछापुच्छ्रे बैंकको पनि २ अर्ब ९२ करोड, एनएमबि बैंकको १ अर्ब २६ करोड र नेपाल एसबिआईको ४६ करोड घटेको छ ।

स्रोतः नेपाल बैंकर्स संघ, रकम अर्बमा


कर्जा विस्तारमा पनि एग्रेसिभ राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनआइएमबि र नबिल पनि शीर्ष सूचीमा

मंसिरमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि वृद्धि भएको छ । गत कात्तिकको तुलनामा बैंकहरुले ४२ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् ।

कर्जा विस्तारमा पनि राष्ट्रिय बाणिज्य बैंक नै अगाडी देखिएको छ । सो महिनामा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

दोस्रो सूचीमा रहेको नेपाल बैंकले पनि ६ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । मंसिरमा एनआइएमबिले पनि ५ अर्ब ७९ करोड रुपैयाँ, नबिलले ५ अर्ब ६७ करोड, प्राइमले ४ अर्ब ४१ करोड, लक्ष्मी सनराइजले ३ अर्ब ५६ करोड, सानिमाले ३ अर्ब ५५ करोड, ग्लोबल आइएमईले ३ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यता, एभरेष्ट बैंकले २ अर्ब ९६ करोड, सिटिजनले २ अर्ब ३९ करोड, प्रभूले १ अर्ब ९२ करोड, सिद्धार्थले १ अर्ब ६७ करोड, नेपाल एसबिआईले १ अर्ब २५ करोड र एनएमबिले ९० करोड रुपैयाँ कर्जा दिएका छन् ।

तर, एनआइसी एशियासहित ६ वटा बैंकको कर्जा लगानी भने घटेको छ । संघका अनुसार एनआइसी एशियाको कर्जा विस्तार ४ अर्ब २४ करोडले खुम्चिएको छ ।

यता, हिमालयन बैंकको पनि २ अर्ब ९७ करोड रुपैयाँ घटेर ८५ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी पनि ९२ करोड, कृषि विकासको ६५ करोड, कुमारीको ५१ करोड र माछापुच्छ्रेको १९ करोड रुपैयाँ घटेको देखिन्छ ।

स्रोतः नेपाल बैंकर्स संघ, रकम अर्बमा


प्रतिक्रिया दिनुहोस्