फेरियो बैंकहरुको नाफाको चित्र : प्रभू, एनआइएमबि र ग्लोबलले बढाए सर्वाधिक, कसले कति कमाए ? « Arthapath.com
७ माघ २०८१, सोमबार

फेरियो बैंकहरुको नाफाको चित्र : प्रभू, एनआइएमबि र ग्लोबलले बढाए सर्वाधिक, कसले कति कमाए ?



काठमाडौं । वाणिज्य बैंकहरुको नाफा प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा बैंकहरुको नाफा साढे ४ प्रतिशत घटेको छ ।

सोमबार प्रकाशित वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने ४.६१ प्रतिशत कमी हो । गत आवको सो अवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समिक्षा अवधिमा ९ वटा बैंकको नाफा घटेको छ । तर, बाँकी ११ बैंकले नाफा बढाएका छन् ।

दोस्रो त्रैमासमा प्रभू बैंकको नाफा सर्वाधिक बढेको छ । बैंकको नाफा ८५.४८ प्रतिशत वृद्धि भई १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । नाफा बढाउनको दोस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कमाएको छ। यो गत आवको तुलनामा भने ५७.१८ प्रतिशत बढी हो ।

तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकको नाफा पनि ४९.५१ प्रतिशत बढेर ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यता, एनएमबि बैंक पनि वृद्धिदरको आधारमा चौंथो सूचीमा छ । बैंकले ६ महिनामा २ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ४५.६ प्रतिशत बढी हो ।

रकमको आधारमा भने नबिल बैंक नै नम्बर वान् बनेको छ । समिक्षा अवधिमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो गत आवको तुलनामा भने १.२८ प्रतिशत मात्रै बढी हो । रकमको आधारमा दोस्रो सूचीमा ग्लोबल र तेस्रो सूचीमा एनआइएमबि छ ।

सर्वाधिक नाफा कमाउनेको चौंथो सूचीमा रहेको २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २१.१ प्रतिशत बढी हो ।

लक्ष्मी सनराइजको नाफा पनि ९.७१ प्रतिशत, नेपाल एसबिआईको ७.१प्रतिशत, सानिमाको ४.७१ प्रतिशत वृद्धि भएको छ । यता, हिमालयन बैंक र माछापुच्छ्रेको नाफा सामान्य बढेको छ ।

एनआइसी एशियासहित ९ बैंकको नाफामा गिरावट

समिक्षा अवधिमा ९ वटा बैंकको नाफा घटेको छ । सबैभन्दा धेरै एनआइसी एशियाको ९२.०३ प्रतिशत घटेर १५ करोड १७ लाख ३० हजार रुपैयाँ कायम भएको छ । गत आवको दोस्रो त्रैमासमा भने बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कुमारी बैंकको नाफा पनि ६८.२ प्रतिशत घटेर २७ करोड ५७ लाख रुपैयाँ कायम भएको छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशत, सिद्धार्थ बैंकको ५३.३५ प्रतिशत, कृषि विकासको २९.३४, नेपाल एसबिआईको २१.८६ प्रतिशत, सिटिजनको १५.३३ प्रतिशत, प्राइमको १४.३३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड ४.९७ प्रतिशत घटेको छ।


प्रतिक्रिया दिनुहोस्