तीन वर्षदेखि मुर्झाएको अर्थतन्त्रमा पलायो पालुवा, ब्यापारमा देखियो लगातारको सुधार « Arthapath.com
७ माघ २०८१, सोमबार

तीन वर्षदेखि मुर्झाएको अर्थतन्त्रमा पलायो पालुवा, ब्यापारमा देखियो लगातारको सुधार



काठमाडौँ । अन्तरराष्ट्रिय ब्यापारमा तेस्रो महिना लगातार सुधार भएको आँकडा भन्सार विभागले सार्वजनिक गरेको छ । गत पुस मसान्तसम्मको तथ्यांकले वैदेशिक ब्यापारमा उल्लेख्य सुधार देखाएको हो ।

गएको असोजसम्म पनि घटिरहेको आयात–निर्यातको आँकडा अहिले लगातार उकालो लाग्न थालेको छ । मिटरब्याजी, लघुवित्त र सहकारीहुँदै सर्वत्र अर्थतन्त्रमा छाएको मन्दीबाट अब विस्तारै आन्तरिक अर्थव्यवस्था चलामान हुन थालेको संकेत उत्त आँकडाले दिएको छ ।

मानिसहरु अब खर्च गर्न थालेका छन् र उपभोगमा बढोत्तरी देखिन थालेको छ भन्ने संकेत पनि यही हो । घरेलु उत्पादनको आँकडा बढिरहेकै बेला आयातमा उल्लेख्य बृद्धि देखिनु गार्हस्थ खपत बढ्न थालेको प्रमाण हो । यसले तीन वर्षसम्म मुर्झाएको अर्थतन्त्रमा अब नयाँ पालुवा आउन थालेको संकेत गरेको छ ।

यो आर्थिक वर्षमा निर्यातको स्थिति गत साउनमा सबैभन्दा उच्च दरले घटेको थियो भने असोजको आँकडामा आयात ज्यादा खुम्चिएको देखिएको थियो । खासगरी दशैं, तिहारका लागि आवस्यक सामग्रीको आयात यो साल ब्यापाक मात्रामा कमी भएको देखिन्थ्यो ।

ठूला चार्डपर्वको मौसममा किफायती (ड्युरेबल्स) सामानहरु, जस्तै रेफ्रिजेरेटरदेखि टेलिभिजनसम्मका इलेक्ट्रोनिक्स र सवारीसाधन समेत ब्यापक मात्रामा किन्ने चलन नेपालमा थियो । तर यो साल यस्ता बजार पनि सुनसान देखिए ।

यिनै कारण यो आर्थिक वर्षको सुरुआति ३ महिनासम्म वैदेशिक ब्यापारको हालत संकुचनमै देखिएको थियो । तर कयौँ सरकारी प्रयास, केन्द्रिय बैंकले अघि सारेका कतिपय लचिलो नीति र बजारले आफैँ सञ्चित गर्न थालेको पैसाको बलमा अर्थतन्त्र विस्तारै सुधारोन्मुख हालतमा फर्किएको हो ।

बचतसँगै बढ्दै उपभोग

नेपाल राष्ट्र बैंकले गत साउनदेखि मंसिर मसान्तसम्ममा ६ खर्ब ४० अर्ब ४२ करोड ५६ लाख रुपैयाँ विप्रेषण (रेमिटेन्स) भित्रिएको जनाएको छ । तर यसबीचमा हाम्रो वैदेशिक ब्यापारको घाटा केवल ५ खर्ब ५५ अर्ब ३९ करोड २९ लाख रुपैयाँमात्रै छ ।

हुन त, रेमिटेन्सको पैसा विदेशी वस्तु आयातमा मात्रै खर्च हुने होइन । नेपालीले विदेश भ्रमण तथा अध्ययन र स्वास्थ्योपचारदेखि थुप्रै काममा विदेशी मुद्रा खर्च गर्छन् । तर त्यही रफ्तारमा विभिन्न स्रोतबाट पैसा आइरहेको पनि हुन्छ । उदाहरणका लागि पर्यटन आम्दानी एक हो ।

तर रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा खर्चहुने मुख्य थलो चाहीँ आयात नै हो । पछिल्ला एक दशकमा नेपाल भित्रिने रेमिटेन्सले वस्तु व्यापारको ठूलो हिस्सालाई परिपुरण गर्दै आएको थियो । तर कोभीड अघिको सालमा पनि कुल वस्तु व्यापार घाटाको ८२ प्रतिशत हाराहारी मात्रै रेमिटेन्सले परिपुरण गर्ने सामथ्र्य राखेको थियो ।

तर २०७८ पछि अर्थतन्त्र जब सुस्ताउन थाल्यो, त्यसपछि व्यापार घाटा कम हुँदै जाने र रेमिटेन्सको बचत बढ्दै जाने स्थिति बन्यो । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा त रेमिटेन्सले व्यापार घाटालाई उछिनेर गएको छ । यो साल मंसिरसम्मको आँकडाले व्यापार घाटाभन्दा रेमिटेन्स १५ प्रतिशत ज्यादा देखिएको छ ।

यही बचतले हाम्रो वित्तीय प्रणालीलाई ‘तरलता संकट’को स्थितिबाट बाहिर निकालेको मात्रै छैन, ‘अधिक तरलता’को बोझिलो दलदलमा फसाउन थालेको छ । यही कारण ब्याजरद न्यून विन्दुमा झरेको छ भने मानिसहरुसँग अब विस्तारै खर्चयोग्य पैसाको उपलब्धता बढ्न थालेको देखिएको छ ।

विगतमा घरजग्गा, सहकारीदेखि सेयरबजार सम्म फसेको पैसाको ऋण उतार्न पनि लामो समय लिएको देखिन्छ । अब यी जटील परिस्थितिहरुबाट अर्थतन्त्र सुधारात्मक लयमा फर्कन थालेको संकेत ब्यापारका आँकडाले गरेका छन् । भलै, यी वित्तीय प्रणालीमा देखिएको निष्कृय कर्जाको बोझ चर्किँदै गएको देखिन्छ ।

केके भयो आयात ?

गएको साउनदेखि पुससम्मका ६ महिनामा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजारका वस्तु आयात गरेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । यी वस्तुहरु संसारका १४७ मुलुकबाट आयात भएका छन् ।

यसमध्ये सर्वाधिक आयात हुने भनेको सधैँ झौँ डिजेल, पेट्रोल र खाना पकाउने ग्यास नै हुन् । त्यसपछि विभिन्न स्वरुपमा आउते कच्चा फलाम तथा स्टिलहरु ज्यादा आयात हुने वस्तुमा पर्छन् । भटमासको कच्चा तेल र स्मार्ट फोन पनि ब्यापक रुपमा आयात भएको छ ।

नेपालले २४ अर्बभन्दा बढीको भटमासको कच्चा तेल तथा १६ अर्ब ७१ करोड ४० लाख हाराहारीको स्मार्टफोन आयात गरेको भन्सारको तथ्यांकमा देखिन्छ । औषधि, सूर्यमुखिको कच्चा तेल र धानको आयातमा पनि हामीले ठूलो पैसा खर्च गरेका छौँ ।

कोइला, रसायनिक मल, हवाइ इन्धन, विद्युतीय सवारी साधन, मकै, विदेशी जीएमओ तोरी, सुन र लसुन पनि नेपालको उच्च आयात भएका वस्तुमा पर्छन् ।

भन्सार विभागका अनुसार यी शीर्ष २० वस्तु (मूलतः ७ वस्तुः पेट्रोलियम, फलाम, खाने तेल, स्मार्टफोन, अन्न, गाडी र सुन)मा मात्रै नेपालले कुल आयात रकमको झण्डै ३९ प्रतिशत अर्थात् ३ खर्ब १८ अर्ब रुपैयाँ खर्च गरेको छ । पोहोरको तुलनामा ७ प्रतिशतभन्दा धेरै अन्तरले आयात बढ्न यी वस्तुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।

निर्यातमा पनि सुधार

नेपालले पनि संसारका ११४ मुलुकलाई आफ्ना उत्पादन बेचेको छ । यसमध्ये कुल निर्यतको करीब ७५ प्रतिशत भारतमा मात्रै बेचिएको तथ्यांकमा देखिन्छ ।

यद्यपि, केही वर्ष अघिसम्म वस्तु निर्यातबाट १०० अर्ब कमाउने लक्ष्य राख्दै आएको नेपालले यो साल ६ महिनामै ९८ अर्ब ७९ करोडको निर्यात गरेको छ । जसमध्ये झण्डै ७४ अर्ब भारतमा मात्रै निर्यात भएको छ ।

अमेरिका, जर्मनी र चीन पनि नेपालको मुख्य निर्यात गन्तव्यमा पर्छन् । त्यसपछि बेलायत, यूएई, फ्रान्स, जापान, अस्ट्रेलिया, इटली, नेदरल्याण्ड्स र टर्की पनि नेपालको शीर्षस्थ बजार सूचीमा छ ।

हाम्रो निर्यात सूचीमा शीर्ष स्थान चाहीँ भटमासको तेलले ओगटेको छ । भारतले नेपालमा प्रशोधित तेल ब्यापक मात्रामा खरीद गरिदिएपछि हाम्रा उद्योगीले यस प्रकारको मूल्य अभिबृद्धिबाट लाभ लिन सकिरहेका छन् । त्यसपछि नेपालको मौलिक उत्पादन कार्पेट तथा भूइँमा ओच्छ्याउने वस्तुहरु नेपालमा मुख्य निर्यातमा पर्छ ।

सूर्यमुखिका गेडा र तेल पनि नेपालबाट निर्यात हुन्छ । चौँथो ठूलो निर्यात चाहीँ ‘ठूलो अलैँची’ हो । चिया, धागो, फेल्ट, फलाम, जुट र प्लाइउड पनि नेपालबाट निर्यात भएको शीर्ष वस्तुमा पर्छ ।

तर हाम्रा दुई छिमेकीहरुको तुलना गर्ने हो भने भारतबाट हामीले कुल आयातको ६१ प्रतिशत वस्तु किन्छौँ र उसलाई कुल निर्यातको ७५ प्रतिशत बेच्छौँ । उता चीनसँग हामीले कुल आयातको झण्डै २० प्रतिशत वस्तु किन्छौँ, तर चीनले हाम्रो कुल निर्यातको १.९५ प्रतिशतमात्रै वस्तु किन्छ ।

यसले चीनतर्फको ब्यापार साझेदारी अझ बढी जोखिमपूर्ण बन्दै गएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्