सेयर कारोबारबाट कुन बैंकले कति गर्छन् कमाई ? « Arthapath.com
१० माघ २०८१, बिहीबार

सेयर कारोबारबाट कुन बैंकले कति गर्छन् कमाई ?



काठमडौं । ६ महिनामै सेयर कारोबारबाट वाणिज्य बैंकहरुले झन्डै ४ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

६ महिनामा बैंकहरुले सेयर कारोबारबाट ३ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने २२.२६ प्रतिशत हो । गत आवको सो अवधिमा बैंकहरुले ३ अर्ब १७ करोड ९ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

अधिकांश बैंकहरुको यस्तो आम्दानी वृद्धि भएता पनि पाँच वटा बैंकको भने घटेको देखिन्छ । सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको ६८.१६ प्रतिशत घटेको छ । यस्तै, सिद्धार्थ बैंकको ४०.४३ प्रतिशत, कुमारीको ३०.५२ प्रतिशत, एनआइसी एशियाको ११.७८ र सानिमा बैंकको २.४७ प्रतिशत घटेको छ । यी बाहेकका सबै बैंकहरुको आम्दानी वृद्धि भएको छ ।

सेयर कारोबारबाट सबैभन्दा धेरै आम्दानी ग्लोबल आइएमई बैंकले गरेको छ । समिक्षा अवधिमा बैंकले ३७ कारेड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको तुलनामा भने २८.६८ प्रतिशत धेरै हो ।

दोस्रो सूचीमा रहेको नबिल बैंकले पनि ३४ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। यता, स्ट्याण्डर्ड चार्टर्डले ३२ करोड ९८ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३१ करोड ९६ लाख रुपैयाँ आम्दानी सेयर कारोबारबाट गरेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै आम्दानी बढाउनेको पहिलो सूचीमा सिटिजन बैंक छ । बैंकको सेयर कारोबारबाट हुने आम्दानी २२९.८७ प्रतिशत बढेर १३ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै, नेपाल बैंकको ७४.६१ प्रतिशत, कृषि विकास बैंकको ७२.८० प्रतिशत, नेपाल एसबिआईको ७१.५५ प्रतिशत, लक्ष्मी सनराइजको ५६.१२ प्रतिशत, एनएमबिको ४५.६७ प्रतिशत वृद्धि भएको छ ।

सेयर कारोबारबाट प्रभू बैंकले २७ करोड १६ लाख, प्राइमले ९ करोड २६ लाख, हिमालयनले २६ करोड ७२ लाख, माछापुच्छ्रेले १४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्