थप सस्तियो कर्जाको ब्याजदर, साढे ८ प्रतिशतको लाइनमा झर्यो « Arthapath.com
२१ माघ २०८१, सोमबार

थप सस्तियो कर्जाको ब्याजदर, साढे ८ प्रतिशतको लाइनमा झर्यो



काठमाडौं । कर्जाको ब्याजदर साढे ८ प्रतिशतको लाइन झरेको छ । पछिल्ला हरेक महिना कर्जाको ब्याजदर घट्दो नै देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षको अवधिमा नै वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर पनि २.६९ प्रतिशत घटेको छ । गत पुस महिनामा यस्तो ब्याजदर ८.६९ प्रतिशत कायम भएको छ । जबकि, गत वर्षको सोही महिनामा भने ११.३८ प्रतिशत थियो ।

केन्द्रिय बैंकका अनुसार गत मंसिरमा पनि बैंकहरुको कर्जाको ब्याजदर ८.९० प्रतिशत कायम भएको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै कर्जाको ब्याजदर निरन्तर घटीरहेको छ । चालु आवको पहिलो महिना अर्थात् साउनमा कर्जाको ब्याजदर ९.६८ प्रतिशत रहेको थियो । यस्तै, भदौमा ९.५२ प्रतिशत, असोजमा ९.३३ प्रतिशत, कात्तिकमा ९.०७ प्रतिशत र मंसिरमा ८.९० प्रतिशत रहेको थियो ।

हाल बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग भने न्युन छ । कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै आएको छ । जसले कर्जाको ब्याजदर पनि घटीरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ ।

पुस महिनामा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशतमा झरेको छ । गत वर्षको पुस महिनामा भने यस्तो ब्याजदर ७.३२ प्रतिशत रहेको थियो । एकै वर्षको अवधिमा नै निक्षेपको ब्याजदर २.५७ प्रतिशत बिन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार गत मंसिर महिनामा पनि निक्षेपको ब्याजदर ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत रहेको थियो । यस्तै, साउनमा ५.६६ प्रतिशत, भदौमा ५.५३ प्रतिशत र असोजमा ५.२४ प्रतिशत रहेको थियो ।

यता, विकास बैंकहरुको कर्जाको ब्याजदर पनि एक वर्षमा ३.०४ प्रतिशत बिन्दुले घटेको छ । गत वर्षको पुस विकास बैंकहरुको यस्तो ब्याजदर १३.१४ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा भने घटेर १०.१० प्रतिशत कायम भएको छ । विकास बैंकहरुको निक्षेपको ब्याजदर पनि २.९९ प्रतिशत घटेर ५.५६ प्रतिशत कायम भएको छ ।

यस्तै, वित्त कम्पनीको कर्जाको ब्याजदर पनि २.९९ प्रतिशत बिन्दु घटेर ११.१० प्रतिशतमा झरेको छ । यस्तै, वित्त कम्पनीको निक्षेपको ब्याजदर ६.६६ प्रतिशत कायम भएको छ।

यसरी प्रत्येक महिनामा निक्षेपको ब्याजदर निरन्तर घट्दा कर्जाको ब्याजदर पनि सस्तिएको हो । यता, लागत घट्दा बैंकहरुको आधार दर (बेस रेट) पनि घट्दै गएको छ ।

हाल वाणिज्य बैंकहरुको आधार ६.६५ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा नै २.७ प्रतिशत बिन्दु घटेको देखिन्छ । यस्तै विकास बैंकको २.८८ प्रतिशत बिन्दु घटेर ८.६१ प्रतिशत र वित्त कम्पनीको पनि ३.२७ प्रतिशत बिन्दु घटेर ९.५० प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्