सुधारोन्मुख घरजग्गा कारोबारको आँकडा पुनः ओरालो, देशभर कहाँ कति किनबेच भयो ? « Arthapath.com
१४ असार २०८२, शनिबार

सुधारोन्मुख घरजग्गा कारोबारको आँकडा पुनः ओरालो, देशभर कहाँ कति किनबेच भयो ?



काठमाडौं । सुधारोन्मुख रहेको घरजग्गा कारोबार पुनः घटेको छ । गत पुस महिनासम्म देशभरको कारोबार समग्रमा सकरात्मक नै थियो । तर, माघमा भने घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघ महिनामा देशभर ४६ हजार ६९ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यो गत पुस को तुलनामा ४.३३ प्रतिशत अर्थात् २ हजार ८७ वटा कमी हो । गत पुस महिनामा पनि देशभरका मालपोत कार्यालय मार्फत ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

विभागका अनुसार गत वर्षको माघ महिनाको तुलनामा पनि ९.५३ प्रतिशत कारोबार घटेको देखिन्छ । गत वर्षको सो महिनामा देशभर ५० हजार ९२१ वटा घरजग्गा किनबेच भएका थिए ।

विभागका अनुसार गत मंसिरमा पनि देशभर ४३ हजार ३७९ वटा घरजग्गाको लिखत पारित भएका थिए । यस्तै, कात्तिकमा देशभर ३३ हजार ५१४ वटा, असोज महिनामा ३० हजार ५२७ वटा, भदौमा ३२ हजार ७९८ वटा साउनमा ४३ हजार ८३५ वटा घरजग्गा खरिदबिक्री भएको थियो ।

गत माघमा सबैभन्दा धेरै इनरुवा सुनसरी क्षेत्रमा किनबेच भएका छन् । सो क्षेत्रमा १ हजार ७०४ वटा घरजग्गा खरिदबिक्री भएको हो । यस्तै, भद्रपुर झापामा पनि १ हजार ५७० वटा, जनकपुरधाम धनुषमा १ हजार ५०३, बेलवारी मोरङमा १ हजार ५०१ वटा घरजग्गा किनबेच भएको छ ।

विभागका अनुसार मालपोत कार्यालय राजविराज, सप्तरी मार्फत १ हजार २१८ वटा, सिराह मार्फत १ हजार २८ वटा, तौलिहवा कपिलवस्तुमा ९९६, मलंगवा सर्लाहीमा ९६०, कलैया बारामा ९५७, विराटनगर मोरङमा ९४६, नेपालगञ्ज बाँकेमा ९४३, भक्तपुरमा ९०४, धनगढी कैलालीमा ८९९, लगनखेल ललितपुरमा ८७८, पर्सामा ८५६, दकम झापामा ८५३, बुटवल रुपन्देहीमा ८४४, रुपन्देहीमा ८३१, चितवनमा ७९४, कोहलपुरमा ७७७, घोराही दाङमा ७६९, लाहन सिराहमा ७५३, काभ्रेपलाञ्चोकमा ७३८, जलेश्वर महोत्तरीमा ७१९ वटा घरजग्गा किनबेच भएको छ ।

यता, सुर्खेतमा पनि ६६० वटा, मकवानपुरमा ६५७ वटा, वर्दघाट सुस्ता पश्चिममा ६४९, कास्कीमा ६३५, कलंकी काठमाडौंमा ५९७, वर्दघाट सुस्ता पूर्वमा ५४८ वटा घरजग्गाको लिखत पारित भएका छन् । यस बाहेकका अन्य मालपोत कार्यालय मार्फत ५०० भन्दा कम कारोबार भएका छन् । हाल मुलुकका १३२ वटा बढी मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएको छ ।

कारोबार घटेपनि राजश्व भने बढ्यो

माघ महिनामा घरजग्गा कारोबार घटेपनि त्यसबापत सरकारलाई जाने राजश्व भने केही बढेको देखिन्छ । सरकारले हाल सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त गर्छ ।

माघ देशभरको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा भने १४.७१ प्रतिशत बढी हो । गत वर्षको माघमा पनि कुल ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यद्यपि, गत पुसको तुलनामा भने राजश्व घटेको देखिन्छ । विभागका अनुसार गत पुस महिनामा भने कुल ४ अर्ब २५ करोड बढी राजश्व संकलन भएको थियो ।

माघमा सेवा कर माफृत २३ करोड ७४ लाख ८२ हजार, रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ५१ करोड ९४ लाख ३५ हजार, पुँजीगत लाभकर बापत १ अर्ब ४५ करोड ५५ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

सबैभन्दा धेरै राजश्व मालपोत कार्यालय लगनखेल ललितपुरबाट ३३ करोड ७४ लाख रुपैयाँ उठेको छ । यस्तै, डिल्लीबजार काठमाडौंबाट २६ करोड ९२ लाख, कलंकीबाट २६ करोड, भक्तपुरबाट २४ करोड ४२ लाख राजश्व संकलन भएको छ ।

यता चावहिल काठमाडौंबाट २० करोड ७९ लाख, कास्की पोखराबाट १४ करोड ७६ लाख, चितवनबाट १३ करोड ६० लाख, साँखु काठमाडौंबाट १० करोड २६ लाख र रुपन्देहीबाट पनि १० करोड ३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यी बाहेकका अन्य मालपोत कार्यालय मार्फत १० करोड कम राजश्व संलकन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्