ऋण दिनका लागि आरविवि, ग्लोबल र एनआइएमबिसँग धेरै पैसा, कुन बैंकसँग कति ? « Arthapath.com
९ फाल्गुन २०८१, शुक्रबार

ऋण दिनका लागि आरविवि, ग्लोबल र एनआइएमबिसँग धेरै पैसा, कुन बैंकसँग कति ?



काठमाडौं । हाल वाणिज्य बैंकहरुसँग साढे ६ खर्ब लगानीयोग्य रकम छ । निक्षेप थपिने क्रम बढीरहेको छ । तर, कर्जा प्रवाह अलि सुस्त–सुस्त छ ।

बैंकहरुमा लगानीयोग्य रकम बढीरहँदा कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो भने लगातार घटीरहेको अवस्था छ । हाल बैंकहरुको सीडी रेसियो ८० प्रतिशत भन्दा कम छ ।

नेपाल बैंकर्स संघका अनुसार गत माघ मसान्तसम्म आइपुग्दा बैंकहरुको यस्तो रेसियो ७९.३५ प्रतिशत छ । यसका आधारमा बैंकहरुसँग कुल ६ खर्ब ३८ अर्ब ६८ करोड बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुले कुल ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । संघका तथ्याङ्क अनुसार माघ मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ वृद्धि भएको छ। यता, कर्जा प्रवाह पनि २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँ बढेको छ । यद्यपि, निक्षेपको तुलनामा कर्जा प्रवाह ज्यादै न्यून हुँदा सीडी रेसियो पनि निरन्तर घट्दो नै देखिन्छ ।

हाल बैंकहरुको सीडी रेसियो ६४ प्रतिशतसम्म आइपुगेको छ । हाल सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको ६३.९६ प्रतिशत छ । कर्जा लगानीका लागि पनि बैंकसँग सबैभन्दा धेरै १ खर्ब १५ अर्ब ७१ करोड बढी रकम छ । माघ मसान्तसम्म बैंकले ४ खर्ब ४४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, २ खर्ब ८३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकसँग पनि ५९ अर्ब ४२ करोड रुपैयाँ लगानीयोग्य रकम छ । समिक्षा अवधिमा बैंकले ५ खर्ब २९ अर्ब २० करोड रुपैयाँ निक्षेप संलकन गरि ४ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको सीडी रेसियो ७८.७७ प्रतिशत छ । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी रेसियो पनि ७३.६९ प्रतिशत छ । यसका आधारमा बैंकसँग कुल ५५ अर्ब ६९ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

संघका अनुसार नेपाल बैंकसँग पनि ४९ अर्ब ६२ करोड, प्रभूसँग ४३ अर्ब ७७ करोड, नबिलसँग ३७ अर्ब ७६ करोड, कृषि विकास बैंकसँग ३७ अर्ब ४१ करोड, लक्ष्मी सनराइजसाग ३१ अर्ब ९४ करोड र कुमारीसँग २९ अर्ब ६७ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

यता, लगानी गर्नका लागि नेपाल एसबिआई बैंकसँग पनि २६ अर्ब ४५ करोड, स्ट्याण्डर्ड चार्टर्डसँग २६ अर्ब १८ करोड, हिमालयनसँग २१ अर्ब ९५ करोड, एनआइसी एशियासँग २० अर्ब ९५ करोड, सानिमासँग १९ अर्ब ३९ करोड, एभरेष्टसँग १६ अर्ब ९३ करोड, एनएमबिसँग १६ अर्ब ६५ करोड, सिद्धार्थसँग १२ अर्ब ११ करोड, सिटिजन्ससँग १२ अर्ब ३ करोड माछापुच्छ्रेसँग १० अर्ब ७७ करोड, प्राइमसँग १० अर्ब १० करोड रुपैयाँ छ ।

कुन बैंक निक्षेप संकलन, कर्जा प्रवाह र सिडी रेसियो कति ? (रकम अर्बमा)


प्रतिक्रिया दिनुहोस्