म्युचुअल फण्डमा किन लगानी गर्ने ? « Arthapath.com
३० चैत्र २०८१, शनिबार

म्युचुअल फण्डमा किन लगानी गर्ने ?



काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फण्ड) भन्नाले धेरैजना लगानीकर्ताहरूको पैसा जम्मा गरेर एउटा साझा कोषमा लगानी गरिने प्रणाली हो । यो नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो ।

म्युचुअल फण्डमा सानो रकम अर्थात् न्युनतम १००० रुपैयाँमा लगानीको सुरुवात गर्न सकिन्छ।  त्यो रकम पूँजी बजार (जस्तै: सेयर, बन्ड, डिबेञ्चर, आदि) मा लगानी गरिन्छ। यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरूलाइ वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ ।

सेयर बजार बारेमा ज्ञान नभएका नयाँ लगानीकर्ताका लागि लगानी गर्ने राम्रो विकल्प हुनसक्छ। त्यसैले पनि म्युचुअल फण्डमा लगानी गर्नु उचित मानिन्छ।

म्युचुअल फन्डको संरचनामा कोष प्रवर्द्धक, कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् । म्युचुअल फन्डले सामूहिक लगानीबाट संकलित पूँजीले विभिन्न योजना सञ्चालन गर्दछन् ।

यो कोषलाई एउटा व्यवसायिक फण्ड व्यवस्थापकले सञ्चालन गर्छन्। ती व्यवस्थापकहरूले लगानीकर्ताको पैसा विभिन्न कम्पनीका सेयर वा अन्य वित्तीय उपकरणहरूमा लगानी गर्छन्, जोखिम मूल्याङ्कन गर्छन्, र लाभ कमाउने प्रयास गर्छन्।

म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने योजना बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन्। यी दुई योजनाहरूका आ-आफ्नै विशेषताहरू हुन्छन् ।

खुलामुखी योजना :

खुलामुखी योजना भन्नाले यस्तो सामूहिक लगानी योजना हो, जसमा लगानीकर्ताहरू कुनै पनि समयमा पैसा लगानी गर्न वा फिर्ता लिन सक्छन्। यो योजनाको अवधि सीमित हुँदैन। जुनसुकै समयमा पनि समय लगानी सुरु गर्न सकिन्छ र चाहेमा फिर्ता लिन पनि सकिन्छ ।

यो कोषले लगातार नयाँ इकाइ जारी गर्न सक्छ। लगानीकर्ताले इकाइहरू दोस्रो बजारमा बेच्नु पर्दैन । उनीहरूले सिधै फण्ड व्यवस्थापकबाट खरिद र फिर्ता गर्न सक्छन्।

खुलामुखी योजनाका निम्न बमोजिमको विशेषताहरु हुन्छन्ः

  • बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने ।
  • योजनाको खुद सम्पत्ति मूल्य को आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने ।
  • खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने ।
  • लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने ।
  • बन्दमुखी योजना जस्तै खुला मुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने ।
  • लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार वृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने ।

बन्दमुखी योजना :

निश्चित रकम र अवधि तोकी लगानीकर्तालाई इकाइ विक्री गरिने सामूहिक लगानी योजनालाई बन्दमुखी योजना भनिन्छ। बन्दमुखी योजनामा योजनाको आकार सुरुमा नै तय गरेर प्राथमिक बजारमा निष्काशन गरिएको हुन्छ ।  बन्दमुखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन्छ। बन्दमुखी कोष एक निर्धारित समयावधि (जस्तै ५ वर्ष, ७ वर्ष आदि) का लागि मात्र सञ्चालन हुन्छ। कोषको सुरुवातमा मात्र निश्चित संख्यामा इकाइ/सेयर जारी गरिन्छ। पछि थप सेयर जारी हुँदैन। कोषको निर्धारित अवधि सकिएपछि मात्र आफ्नो लगानी र नाफा फिर्ता पाइन्छ । लगानी अवधि निश्चित हुने भएकाले दीर्घकालीन फाइदा हुन्छ ।

बन्दमुखी योजनाको विशेषताहरू यस्ता छन् :

  • निश्चित अवधि
  • एकपटक मात्र इकाइ जारी हुन्छ ।
  • दोस्रो बजारमा किनबेच हुने ।
  • व्यवस्थापकले पुन: इकाइ किन्ने व्यवस्था हुँदैन।
  • योजनाको अन्त्यमा मात्र लगानीकर्ताले नाफा वा घाटासहित आफ्नो पूँजी फिर्ता पाउँछन्।
  • बन्दमुखी योजना सुरु गर्दा आईपीओ जस्तै प्रक्रिया अपनाइन्छ, जहाँ इच्छुक लगानीकर्ताले आवेदन दिनुपर्छ।

कोष व्यवस्थापकलाई स्थिर पूँजी उपलब्ध हुने, जसले दीर्घकालीन योजनामा लगानी गर्न सजिलो हुन्छ। हाल नेपालमा ४२ म्युअुल फण्ड सञ्चालनमा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्