बैंकमा नाफा प्रतिस्पर्धा: नबिल, ग्लोबल र एनआइएमबिको कडा टक्कर, २० वटामध्ये कसको पोजिशन कुन ?

काठमाडौं । १० महिनामा वाणिज्य बैंकहरुले झन्डै पौने ४८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
सो अवधिमा बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि, यो गत आवको सोही अवधिको तुलनामा भने १.६७ प्रतिशत कमी हो । जबकि, गत आवको बैशाख मसान्तसम्ममा बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको देखिन्छ । तथ्याङ्क अनुसार नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शीर्ष सूचीमा छन् । समिक्षा अवधिमा सर्वाधिक नाफा नबिलले कमाएको छ । नबिलले १० महिनामा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा भने २.५९ प्रतिशत बढी हो ।
दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफ वृद्धिदर भने २९.८९ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १२ कराड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, एनआइएमबिले पनि ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ३३.१४ प्रतिशत धेरै हो । गत आवको १० महिनामा बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा एभरेष्ट बैंकको नाफा पनि ३०.९७ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुर्याएको छ ।
नाफा बढाउने मामलामा भने नेपाल बैंक पहिलो सूचीमा छ । समिक्षा अवधिमा बैंकको नाफा सर्वाधिक ४५७.१२ प्रतिशत वृद्धि भई ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । वृद्धिदरमा एनआइएमबि दोस्रो, एभरेष्ट तेस्रो र ग्लोबल आइएमई चौंथो सूचीमा छ ।
यस्तै, माछापुच्छ्रे बैंकको नाफा पनि १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख, लक्ष्मी सनराइजको १०.२० प्रतिशत, सानिमाको ७.१० प्रतिशत १ अर्ब ८७ करोड ५ लाख, एनएमबि ५.५६ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख र सिद्धार्थ बैंकको नाफा १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।
तर, एनआइसी एशियासहित १० वटा बैंकको नाफा घटेको छ । समिक्षा अवधिमा एनआइसी एशिया बैंकको नाफा ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन बैंकको नाफा पनि ६९.३४ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कुमारी बैंकको नाफा ६६.२८ प्रतिशत, कृषि विकास बैंकको ३५.७३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३०.९३ प्रतिशत, सिटिजनको २१.४० प्रतिशत र प्रभूको २०.९० प्रतिशत घटेको छ । समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः ४८ करोड १९ लाख, १ अर्ब ७३ करोड ३८ लाख, १ अर्ब ७७ करोड ४ लाख, १ अर्ब १८ करोड १५ लाख र २ अर्ब १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यसैगरि प्राइम बैंकको नाफा पनि १९.८५ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख, स्ट्याण्डर्ड चार्टर्डको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख, नेपाल एसबिआईको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ कायम भएको छ ।