काठमाडौं बाहेकका सबै महानगरले ल्याए बजेट, कसले कसरी जुटाउँदै छन् स्रोत ?

काठमाडौं । देशका अधिकांश महानगरले समयमै आगामी वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन् । तर, काठमाडौं महानगरमा भने अझै अन्योलता कायमै छ ।
हालसम्म पोखरा, ललितपुर, भरतपुर, विराटनगर र वीरगञ्ज महानगरपालिकाले आ–आफ्नो नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गरेका हुन् ।
अब हेरौं यी महानगरहरूले प्रस्तुत गरेको बजेटको आकार र स्रोत व्यवस्थापन विवरण
पोखरा महानगर बजेट आकार ८ अर्ब ३५ करोड
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि ८ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट महानगरहरुमध्यै ठुलो हो ।
महानगरले संघीय सशर्त अनुदान ३ अर्ब १३ करोड, संघीय राजस्व बाँडफाँट तर्फ ३३ करोड ८ लाख, संघीय समानीकरण अनुदान तर्फ ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान तर्फ ८ करोड १५ लाख विनियोजन गरेको छ।
यस्तै, आन्तरिक आय तर्फ ५ अर्ब २२ करोड, स्थानीय राजस्व बाँडफाँट तर्फ १ अर्ब १ करोड, प्रदेश राजस्व बाँडफाँट तर्फ ४ करोड २८ लाख रहेको छ ।
ललितपुर महानगरपालिको बजेट साढे ७ अर्ब
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मंगलबारको नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा सामाजिक विकास, समृद्धि, सुशासन, हरियाली प्रवद्र्धन, आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विस्तार लगायतका क्षेत्रमा प्राथमिकता दिइएको छ ।
बजेटमध्ये २ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ चालु खर्च र पूँजीगत योजनामा ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भरतपुर महानगरपालिका : पाँच अर्ब १९ करोडको बजेट
भरतपुर महानगरपालिकाले आगामी आवका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने हस्तान्तरण रकमसँगै आन्तरिक आयलाई प्रमुख स्रोतको रूपमा प्रस्तुत गरिएको छ।
आन्तरिक आय तर्फ १ अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको छ । यता, संघीय राजस्व बाँडफाँट तर्फ ३१ करोड ९१ लाख, प्रदेश राजस्व तर्फ १४ करोड ४ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
विराटनगर महानगरको बजेट आकार ४ अर्ब ४० करोड
विराटनगर महानगरपालिकाले आगामी आवका लागि ४ अर्ब ४० करोड रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको बजेट उपप्रमुख शिल्पा कार्कीले नगरसभामा प्रस्तुत गरेकी हुन् ।
उनका अनुसार संघ र प्रदेश समानीकरण अनुदान तर्फ ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँट तर्फ १ अर्ब १९ करोड २० लाख र आन्तरिक राजस्व तर्फ १ अर्ब ४० करोड रहेको छ ।
संघीय सशर्त र समपूरक अनुदान तर्फ ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान तर्फ ४ करोड २३ लाख ६७ हजार रुपैयाँ रहेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख, ऋण सावा तथा व्याज भुक्तानीमा ५ करोड र चालु आवका बाँकी योजना भुक्तानीमा ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
वीरगञ्ज महानगरको ३ अर्ब २२ करोडको बजेट
वीरगञ्ज महानगरपालिकाले पनि आगामी आवका लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको नगरसभाको १७औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन् ।
बजेट संरचना अनुसार चालु खर्च तर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार, पुँजीगत खर्च तर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापन तर्फ ३ करोड ६४ लाख रुपैयाँ रहेको छ ।