फेरि उकालो लाग्दै म्युचुअल फन्डहरू, कुनको ‘ब्यालेन्स सिट’ कस्तो आयो ?

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूको ब्यालेन्स सिटमा सुधार देखिएको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत म्युचुअल फन्डहरूको नाफा, सेयर बजारमा लगानी र प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मा सुधार देखिएको छ ।
फन्डहरुले प्रकाशन गरेको गत जेठ महिनाहरुको वित्तीय विवरणले यस्तो देखाएको हो । ४२ फन्डहरुको नाफा ४ करोड ७७ लाख रुपैयाँ वृद्धि भएको छ । न्याभ पनि बढेको छ ।
यता, फन्डहरुले सेयर बजारमा पनि लगानी पनि ३.२२ प्रतिशत बढाएका छन् । जेठमा सेयर बजारमा केही सकरात्मक संकेत देखिएको छ । बजारमा आएको सुधारले नै फन्डहरुको वित्तीय प्रदर्शन पनि सकरात्मक भएको भएको हो । यसअघि बजारको उतारचढावका कारण फन्डहरूको समग्र वित्तीय स्थिति चमक आउन सकिरहेको थिएन् । नाफा, न्याभ र सेयर बजारको लगानी दबाबमै देखिएको थियो ।
एकै महिना सेयर बजारमा थपे झन्डै डेढ अर्ब लगानी
फन्डहरुले एकै महिना सेयर बजारमा झन्डै डेढ अर्ब लगानी थपेका छन् । गत वैशाखसम्म फन्डहरुले बजारमा ४१ अर्ब ९१ करोड ७३ लाख ७३ हजार रुपैयाँ लगानी गरेका थिए ।
तर, जेठमा आइपुग्दा भने ३.२२ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बढाएका छन् । जेठमा फन्डहरुले कुल ४३ अर्ब २६ करोड ८९ लाख ३२ हजार रुपैयाँ लगानी गरेका छन् । समिक्षा महिनामा अधिकांश फन्डहरुले सेयर बजारमा लगानी बढाएका छन् ।
सबैभन्दा ठुलो लगानी एनआइबिएल सहभागिता फन्डको ४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ रहेको छ । यो गत बैशाखको तुलनामा भने १.१६ प्रतिशत बढी हो । यता, एनएमबि सरल बचत फन्ड इको पनि बजारमा २ अर्ब ७९ करोड १५ लाख ६५ हजार रुपैयाँ लगानी छ । फन्डले एकै पनि ४.९१ प्रतिशत लगानी सेयर बजारमा थपेको हो ।
बजारमा सिद्धार्थ इक्विटी फन्डको लगानी १ अर्ब ५२ करोड ३३ लाख, सिद्धार्थ सिष्टमेटिक इन्भेष्टमन्ट स्किमको १ अर्ब ४० करोड ८८ लाख, प्रभू सेलेक्ट फन्डको १ अर्ब ३५ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १ अर्ब ३१ करोड, एनआइबिएल समृद्धि फन्ड–२ को १ अर्ब २५ करोड, सनराइज ब्लूचिपको १ अर्ब २२ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– २ को १ अर्ब २० करोड रुपैयाँ छ ।
जेठमा सबैभन्दा धेरै लगानी वृद्धि गर्नेमा रिलायबल समृद्धि योजना छ । गत बैशाखमा सो फन्डले ७७ लाख १६ हजार रुपैयाँ मात्रै बजारमा लगानी गरेको थियो । तर, जेठमा भने १४ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ ।


अधिकांश फन्डहरुले बढाए नाफा, चार वटा भने नोक्सानीमा, कसको नाफा–घाटा कति ?
जेठमा अधिकांश फन्डहरुको नाफमा सुधार देखिएको छ । सर्वाधिक नाफा कमाउनेको शीर्ष सूचीमा प्रभू सेलेक्ट फन्ड छ । सो फन्डले एकै महिना २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत बैशाखको तुलनामा भने २०.१७ प्रतिशत धेरै हो ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ को नाफा पनि ७.८१ प्रतिशत बढेर २३ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । यता, हिमालयन ८०–२० को नाफा पनि ७.३० प्रतिशत बढेर २३ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा महिनामा प्रभू स्मार्ट फन्डले पनि २१ करोड १२ लाख, सिद्धार्थ इक्विटी फन्डले २० करोड ९४ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले १७ करोड १२ लाख, नबिल ब्यालेन्सड फन्ड–३ ले १६ रकोड ६७ लाख, र नबिल ब्यालेन्सड फन्ड–२ ले १५ करोड ५७ लाख, एनएमबि ५० ले १५ करोड ५३, आरविवि म्युचुअल फन्ड–१ ले १५ करोड ६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सर्वाधिक नाफा बढाउनेमा भने सनराइज ब्लूचिप फन्ड रहेको छ । सो फन्डको नाफा ३११.३३ प्रतिशत वृद्धि भई १ करोड ८८ लाख रुपैयाँ कायम भएको छ । यता, गरिमा समृद्धि योजनाको नाफा पनि ११६ प्रतिशत बढेको देखिन्छ ।
तर, अधिकांश फन्डको नाफा वृद्धि भएता पनि चार वटा भने नोक्सानीमा देखिएका छन् । हाल ‘एनआइबिएल समृद्धि फन्ड–२’ १९ करोड ५१ लाख, ‘मेगा म्युचुअल फन्ड–१’ ५ करोड ८४ लाख, एनआइबिएल स्टेबल फन्ड ३ करोड ३४ लाख र रिलायबल समृद्धि योजना ५५ लाख ७३ हजार रुपैयाँ नोक्सानीमा देखिएका छन् ।


कसको न्याभ कति ?
जेठमा अधिकांश फन्डहरुको न्याभमा पनि सुधार देखिएको छ । हाल औसत न्याभ ११.१९ रुपैयाँ कायम भएको छ । जबकि, गत बैशाखमा भने ११.१० रुपैयाँ रहेको थियो ।
जेठमा आठ वटा फन्डको न्याभ मात्रै घटेको छ । यी बाहेकका अन्य सबै फन्डहरुको न्याभमा सुधार देखिएको हो ।
हाल सबैभन्दा धेरै हिमालयन ८०–२० को १२.८२ रुपैयाँ छ । यस्तै, प्रभू स्मार्ट फन्डको न्याभ १२.७८ रुपैयाँ, प्रभू सेलेक्ट फन्डको १२.७४ रुपैयाँ, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोको १२.३८ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड– १ को १२.३५ रुपैयाँ छ ।
जेठमा २० वटा फन्डको न्याभ ११ रुपैयाँ बढी छ भने १५ वटा १० रुपैयाँ बढी छ । सबैभन्दा कम न्याभ एनआइबिएल स्टेबल फन्डको ९.७३ रुपैयाँ र रिलायबल समृद्धि योजनाको ९.९५ रुपैयाँ छ ।

