दसैँको टिकाको साइत १०ः३५ बजे « Arthapath.com
१५ आश्विन २०७६, बुधबार

दसैँको टिकाको साइत १०ः३५ बजे



काठमाडौं ÷ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते मंगलबार विजयादशमीका दिन टीका लगाउने उत्तम साइत बिहान १० बजेर ३५ मिनेट रहेको छ । सोही दिन बिहान ८ बजेर ४५ मिनेटमा घटस्थापनाका दिन थपिएको देवी भगवतीलाई विसर्जन गरिने शुभसाइत रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
उनका अनुसार देवी विसर्जनपछि प्रसादस्वरूप टीका र जमरा साइतमा लगाउने परम्परा छ । त्यस दिनभर टीका लगाउँदा राम्रो हुने गौतमले बताए । ‘यो साइत खोज्नेका लागि मात्र हो,’ उनले भने, ‘शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत चाहिँदैन ।’
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्न हुने मान्यता भए पनि स्थानअनुसार यो फरक छ । यसपालिको दसैँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन रहेको समितिले जनाएको छ ।
समितिका अनुसार घटस्थापनाको साइत १२ असोज आइतबार बिहान १० बजेर ३५ मिनेटमा थियो । सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत १३ असोज सोमबार बिहान १० बजेर ३५ मिनेटमा शुभ रहेको समितिले जनाएको छ ।
समितिका अध्यक्ष गौतमका अनुसार यो वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुन्छ । १६ असोज बिहीबार पचली भैरवको जात्रा परेको छ । १८ असोज शनिबार फूलपातीका दिन बिहान ८ बजेर ५२ मिनेटमा तुलजा भवानी यात्रा साइत निस्किएको छ । भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान १० बजेर ५ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने कुनै साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।
१९ असोज आइतबार महाअष्टमी ब्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्नेछ । २० असोज सोमबार महानवमी परेको छ ।
विजयादशमीका दिन गरिने तुलजा भवानी यात्राका लागि २१ असोज बिहान ८ बजेर ३५ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ९ बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ ।
खड्ग यात्राको साइत २१ असोज विजयादशमीकै दिन ९ बजेर ५५ मिनेटमा राम्रो छ । दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई २५ असोज शनिबार समाप्त गर्नुपर्नेछ । कोजाग्रत पूर्णिमा २६ असोजमा परेको छ ।


प्रतिक्रिया दिनुहोस्