पेरिस कम्युन: बिर्सनलायक सम्झना « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

पेरिस कम्युन: बिर्सनलायक सम्झना



पुरुषोत्तम लम्साल

यो सप्ताहको उत्तराद्र्धमा संसारभरका प्रगतिशील एवम् क्रान्तिकारीहरूले एउटा विशेष दिन सम्झनेछन् । ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादको वकालत र पक्षपोषण गर्नेहरूले जोसिला भाषणहरू गर्नेछन् र सुन्नेछन् । माक्र्सवादका अनुयायीहरूले ती भाषणसँगै आँधी र असिनाको गतिमा आएर त्यसकै गतिमा अवसान भएको एउटा विद्रोही सत्ताको गाथा गाउनेछन् । माक्र्स, लेनिन, स्टालिन, माओ जस–जसलाई आदर्श माने पनि ती सबैको गर्तबाट उधिनिएर आउने त्यो विशेष दिन मार्च १८ नै हो जुन दिन पेरिस कम्युनको स्थापना भएको थियो ।
अर्थात् पेरिस कम्युनको वार्षिकोत्सव । १४९ वर्षअगाडि फ्रान्समा भएको एउटा त्यही युगीन महत्वको घटना अर्थात् सन् १८७१ को पेरिस कम्युन । भलै यो एकाध महिनामै तासको घरझैँ गल्र्यामगुर्लुम्म ढल्यो, तर त्यसले समग्र विश्वराजनीति र राजनीतिशास्त्र दुवैको इतिहासमा नयाँ अध्याय बनायो । संसारभर आफूलाई माक्र्सवादी बताउनेहरूलाई स्कुल अफ थट दिएर गयो । कार्लमाक्र्स जिउँदै छँदा (बेलायत निर्वासनमा रहँदा) भएको, माक्र्स आफैँले स्वर्गको आँधी, पुँजीपतिहरूको स्वर्गमाथि हमला, नयाँ समाजको शानदार अग्रदूत नाम र प्रतिक्रिया दिएको त्यो विद्रोह, त्यो सत्तापलट, त्यो राजनीति, त्यो उहापोह… सबैमा पेरिस कम्युन इतिहासको पानामा सर्वाधिक महत्वपूर्णमध्ये एक भएर सुरक्षित छ ।

पेरिस कम्युनको गठनलाई लिएर माक्र्सले त्यतिबेलै ‘यो जित मानव सभ्यतामा समाजवादी क्रान्ति र वर्गीय सत्ताको जितको रूपमा उल्लेख हुनेछ’ भनेका रहेछन् । ‘द सिभिल वार इन फ्रान्स’मा माक्र्स लेख्छन्, ‘उनीहरूले पुरानो सत्ताका आर्मी र प्रहरी खारेज गरिदिए । देशका सबै नागरिक हतियारसहित नेसनल गार्डमा रूपान्तरण भए र पेरिसमा एउटै मात्र सशस्त्र बल बन्यो । पादरीहरूलाई उनीहरूकै व्यक्तिगत जीवनमा पठाइयो र अन्य विपन्नसरह खानाको व्यवस्था गरियो । किसान र मजदुरका आधारभूत आवश्यकतालाई मजदुरको वर्गीय सत्ताले तत्कालै सम्बोधन गर्न सुरु गर्यौ ।’

भलै, पेरिस कम्युन पुरातन सत्ताविरुद्ध पहिलो विद्रोह थिएन, मजदुरले देखाएको साहस र जितको पहिलो उदाहरण पनि थिएन, तर त्यो श्रमिक वर्ग अथवा चल्तीको भाषामा सर्वहारा वर्गले सङ्गठित भएर शासक वर्गलाई घिसारेर शासनबाट हुत्याएकोचाहिँ आधुनिक विश्वइतिहासको प्रारम्भिक घटना थियो । त्यो धेरै टिकेन, तर त्यो क्रान्तिको त्यस्तो पहिलो स्वरूप बन्यो जसले विद्रोह र क्रान्तिको आधारभूत सिद्धान्तलाई नै लिखितम् गरिदियो । राजनीतिक इतिहासको मञ्चबाट त्यो गौरवशाली विजय त ढल्यो, तर त्यसको शिक्षा ढलेन । पेरिस कम्युनको शिक्षामा रुसी क्रान्तिका नायक लेनिनले उल्लेख गरेका छन्, ‘त्यो त्यही क्रान्ति थियो जसले रुसी क्रान्ति वा अक्टोबर क्रान्तिलाई मार्गनिर्देश ग¥यो ।’ लेनिनले थप भने, ‘पेरिस कम्युनको गठनले कस्तैखाले प्रतिकुलताका बीचबाट पनि पुँजीवादी व्यवस्थाविरुद्ध साम्यवादी समाजवादी अभ्यास सम्भव छ भन्छ ।’

पेरिस कम्युन त्यही हो जसले फ्रान्सका लुई बोनापार्ट र जर्मनीका विस्मार्क दुवैको दोहोरो शक्तिविरुद्ध बहादुरी देखायो । रोग र भोकबाट आजित मजदुर, दास, ग्रामीण किसान वा सर्वहाराले निर्माण गरेको त्यो त्यही नेसनल गार्ड थियो जसले पेरिस कम्युनको नाममा तानाशाही, फासीवादी राजनीतिक सत्तालाई बलपूर्वक हुत्याइदिए । महिलाले विदेशी सेनाविरुद्ध अपूर्व लडाइँ लडे र तिनका कमान्डरहरूलाई बाँधेर घिसारे । र, कम्युनको झण्डा (The Flag of the Commune) लाई त्यहाँका मजदुरले विश्व गणतन्त्रको झण्डा (The Flag of the World Republic) भएको घोषणा गरिदिए । पेरिस कम्युन नजन्मिएको भए माक्र्सवाद कुनै आदर्शको रूपमा जबर्जस्त स्थापित हुन्थ्यो कि हुन्नथ्यो होला ? पेरिसका मजदुरले पुँजीपति वर्गको आधिकारिक सत्तालाई राजधानीबाटै उखालेर नफालेको भए सर्वहारा र मजदुर वर्गकेन्द्रित माक्र्सवाद यसैगरी विश्वको अभिन्न दर्शन बन्थ्यो होला ? माक्र्सको विचारधारा वाद वा दर्शन बन्नुभन्दा पहिला नै माक्र्सको विचारसँग पूर्णतः सहमत नभएका वा अन्तरसङ्घर्षकै रूपमा असन्तुष्टि जनाएका पेरिस कम्युनका नायकहरूले माक्र्सले भनेजस्तै आत्मसमीक्षा, वर्गसमीक्षा र शत्रुसमीक्षा गरेको भए पेरिस कम्युन सय दिनको हनिमुन पनि मनाउन नपाउँदै ढल्थ्यो होला कि ढल्दैन थियो होला ? यी प्रश्नमाथि एक शताब्दीआधादेखि नै बहस जारी छ ।

पेरिस कम्युनको पृष्ठभूमिमा सन् १८४८ को पेरिस नरसंहार प्रधान भएर आउँछ जहाँ हजारौँ मजदुरको कत्लेआम भएको थियो । अर्थात् माक्र्सवादीहरूको गायत्री मन्त्र कम्युनिस्ट घोषणापत्र जारी भएकै वर्ष बोनापार्टका सैनिकले मजदुरमाथि थोपरेको भीषण परिस्थिति नै पेरिस कम्युनको प्रधान आधारतत्व थियो । सैनिककै बलमा बोनापार्टले सन् १८५१ मा फ्रान्स गणतन्त्रको घोषणा त गरे, तर तिनको दमन व्यहोरेका र विद्रोही बन्दै गरेका असन्तुष्ट मजदुरहहरूलाई निर्मुल वा उन्मूलन गर्न सकेनन् । असन्तुष्टिको यही म्याग्मा पग्लँदै गएर २० वर्षपछि पेरिस कम्युन बन्यो, क्रान्तिकारी सत्ताको पहिलो अनुभव बन्यो, पुँजीपति वर्गविरुद्धको पहिलो सङ्गठित सशस्त्र क्रान्ति बन्यो, विश्वका मजदुर र सर्वहारा वर्गका लागि सदावहार शिक्षा र उदाहरण बन्यो ।
तर, मान्नुहोस् पेरिस कम्युन माक्र्सवादको जगमा भएको विद्रोहचाहिँ होइन भन्ने मत असाध्यै बाक्लो र शक्तिशाली दुवै छ । इतिहासकारहरू पेरिस कम्युनलाई औद्योगिक युुगमा दार्शनिक रुसोको सामूहिक इच्छाको सिद्धान्तको अनुसारको परिणाम ठान्छन् । केही जनतन्त्रको अद्वितीय अभ्यास बताउँछन्, तर त्यसको उत्प्रेरक सिद्धान्तबारे मौन रहन्छन् । पेरिस कम्युनलाई राज्यविहीन अराजक समाजको अभियान करार गर्नेहरू पनि छन् र सर्वहाराको तानाशाहीको रूपमा व्याख्या गर्नेहरू पनि छन् । यथार्थमा पेरिस कम्युन विद्रोहको पाठशाला नै हो । यसलाई असफलता–असफलताको कसीमा पछि नाप्दै गरौँला, तर पेरिस कम्युन त्यस्तो राजनीतिक अभ्यास हो जसले पुँजीपतिवर्गको आधिकारिक सत्तालाई उसकै राजधानीबाट केही समयकै लागि सही, उखेलेर फालिदियो ।

नेपाली समाजको सापेक्षतामा अर्थ खोज्दा पेरिस कम्युन किन सम्झन आवश्यक छ भने त्यसले पुँजीपतिहरूहरूले जस्तो व्यापार र श्रमको शोषणको अविराम उपलब्धलाई स्वतन्त्रताको रूपमा गरिने व्याख्यामाथि लगाम लगाइदियो । समानताको कुलीन व्याख्या जहाँ उच्चवर्गको हैसियतअनुसार भागबन्डा हुन्छ, त्यसमाथि पेरिस कम्युनले धावा बोल्यो । श्रम र पुँजीबीच हुने बाँडफाँडमा अपनाइने भाइचारा सम्बन्धमाथि उलटफेर गरिदियो । दासताबाट मुक्ति, शोषणबाट मुक्ति त छँदै छ पेरिस कम्युनले समाजको वर्गवर्गबीचको विभाजनको पनि अन्त्य सम्भव छ भन्ने शिक्षा दियो । यसैले तपाईंले आफ्नो समाजको, देशको, व्यवस्थाको रूप र चरित्र हेरेर हामी कुन स्तर र अवस्थामा छौँ भन्ने अनुमान गर्न सक्नुहुन्छ । त्यसकै लागि आज पेरिस कम्युनको सन्दर्भ उठान गरिएको हो ।

हो, हामीले पेरिस कम्युनलाई वर्गसङ्घर्षको विकासको चरणअनुसार सम्झियौँ भने, माक्र्स र एङ्गेल्सले कल्पना नगरेको वर्गसङ्घर्षको रूपरेखा तयार गरेको रूपमा बुझ्दा फलदायी होला । पेरिस कम्युन गठनलगत्तै जारी भएको कम्युनिस्ट घोषणापत्रको संशोधित संस्करणले त्यही भन्छ । खासगरी पुरानो सत्ताको यावत् तन्त्र र अवयव कायमै राखेर क्रान्तिकारीहरूले त्यसलाई आफूअनकूल उपयोग गर्न सक्दैनन् र त्यसबेला कुनै पनि विद्रोही सत्ता निकट भविष्यमै गल्र्याममै ढल्छन् भन्ने सन्देश पेरिस कम्युनले दिन्छ ।

माथिको अनुच्छेदको अन्तिम वाक्यलाई तपाईं नेपालमा द्वन्द्वको अवतरणपछिको पहिलो संविधानसभाको निर्वाचन, त्यसपछिको माओवादी सरकार र उसको पतन र विघटनलाई सापेक्षतामा जोडेर समीक्षा गर्नुभयो भने पक्कै केही निष्कर्ष प्राप्त हुनेछ । इच्छाधीन नागले जसरी माओवादीले भन्ने गरेको सत्ता कब्जा र आमविद्रोहको धरातल समीक्षा गर्न पनि हामीले पेरिस कम्युनलाई दृष्टान्त मान्न आवश्यक हुन्छ । नागरिक सर्वोच्चताको बेस्वादको चिच्याहट कसरी संसद्वादबाट ठेगान लगायो भनेर बुझ्न हामीले पेरिस कम्युन किन ढल्यो भनेर खोजी गर्दा केही मिहीन समानता भेटिन्छ (यसको अर्थ प्रचण्ड र ब्लांकीलाई एउटै लहरमा राखेर अध्ययन गर्नुपर्दछ भनिएकोचाँहि होइन) ।

कुशासन र अनाचार, बैंक र वित्तीय संस्थाहरूको लुट, व्यापारीहरूको मनपरीतन्त्र, ठेकेदारहरूको स्थानीय सत्ता हामीमा पनि हिजो पनि त्यही थियो, आज पनि त्यही छ । केन्द्रीय सत्ता र बहुमत जनमत कसका लागि भन्दा जनताले सीधासीधा उत्तर दिन सक्ने भएका छन् यती होल्डिङ्स र उति होल्डिङ्सका लागि । विदेशनीतिको पक्षपोषण गर्नेहरू कसरी छान्छिन् भन्यो भने कट्टु, फरिया र लँगौटीबाट उदाहरण दिन मिल्ने भएको छ । हामी कसरी शक्तिराष्ट्र र बहुराष्ट्रिय कम्पनीहरूहरूको मुट्ठीमा छौँ भनेर बुझ्न एमसीसी र रेशमी मार्गका रेशमी सपना ज्युँदाजाग्दा छन् । हाम्रा राष्ट्रिय उद्योगधन्दा अंशतः मात्र सग्लो रहेको अवस्थामा मजदुर वर्ग र आन्दोलनको परिकल्पना गर्ने लेठो नबेसाउँदा नै ठीक हुन्छ । हो, त्यसैले हामीले पेरिस कम्युनको उठान र पतनलाई खोजीखोजी अध्ययन गरेर हाम्रो समाजको सापेक्षमा तुलना गर्दा बेफाइदा हुँदैन । एउटा असफल विद्रोह र असफल क्रान्तिको गर्त उधिनेर त्यसको पत्रपत्र केलाउँदै इतिहास र वर्तमानबाट शिक्षा लिँदा के नै बिग्रन्छ र ? त्रिशूली प्रवाहबाट


प्रतिक्रिया दिनुहोस्