ग्याँस आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने « Arthapath.com
१ चैत्र २०७६, शनिबार

ग्याँस आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने



काठमाडौं । सरकारले एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने दोहोर्याइ रहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ । पछिल्ला केही दिनयता निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ । ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक टन पुर्याएको छ । अहिले एलपी ग्यासको औषत मासिक खपत ३८ हजार मेट्रिक टन रहेको छ ।

काठमाडौँमा बढी गुणस्तरीय मानिएको नेपाल ग्यासमा भने बढी दबाब परेको छ । सहज रुपमा पाइने भएकाले पनि नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको हो । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारी कोरोना भाइरसका कारण ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले घरघरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउँछन ।

नेपालभर दैनिक १ लाख सिलिण्डर खपत हुने गरेको छ भने विभिन्न ५८ ग्यास उद्योग रहेका छन । यता नेपाल आयल निगमले भने बजारको माग अनुसार आपूर्ति गर्ने बताएको छ ।

पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन । यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन । यस्तै फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ । दुई दिनमा काठमाडौँ उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन ।


प्रतिक्रिया दिनुहोस्