आज मात्रै दुई लाख २२ हजारले राजधानी छाडे « Arthapath.com
१० चैत्र २०७६, सोमबार

आज मात्रै दुई लाख २२ हजारले राजधानी छाडे



काठमाडौँ, रासस । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन्् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन् । यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु भित्रिएको महाशाखाले जनाएको छ ।

चैत ६ गतेपछि चार दिनको अवधिमा राजधानी छाड्ने यात्रुको सङ्ख्या भने छ लाख ६८ हजार २६ पुगेको छ । शनिबार दुई लाख ६ हजार यात्रुले र शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेका थिए । राजधानी भित्रिने क्रम क्रमशः घट्दै गएको छ भने बाहिरिने क्रम बढ्दो रहेको महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो । त्यसपछि राजधानी छाड्ने क्रम ह्वात्तै बढेको हो ।

कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आजदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको छ । यस्तै आज रातिदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा सरकारले रोक लगाएको छ । बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने कायमै छ । प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भिडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्