कोभिड १९ : महाभियान सञ्चालन हुँदै, अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० नरोकिने « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कोभिड १९ : महाभियान सञ्चालन हुँदै, अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० नरोकिने



रमेश गिरी
भक्तपुर, रासस । कोभिड १९ ९कोरोना भाइरस० को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ ।
दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ ।

फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम विरुद्ध उपत्यकाका सबै नगरपालिकाले एकजुट भएर कार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले उपत्यकाका १८ वटै नगरले संयुक्त रुपमा सो भाइरसको जोखिम विरुद्धको महाअभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ, यसका लागि सबै नगरपालिका एक ठाउँमा उभिएका छौँ ।” सबै नगरपालिकाले आफ्ना नगरपालिकामा सो भाइरसबाट जोगिने उपायसहितका सकारात्मक सन्देश आम नगरवासीमा प्रवाह गर्ने भएका छन् ।

सो भाइरसको आशङ्का भएका बिरामीको लागि निगरानी कक्ष९ क्वारेन्टाइन० को व्यवस्था नगरपालिकाले गर्ने छन् । यसका लागि आआफ्नो नगरपालिका क्षेत्रभित्र रहेका स्कूल, कलेज, होटल तथा गेष्टहाउस र सामुदायिक भवनलगायतलाई अस्थायी क्वारेन्टाइन बनाउने जनाइएको छ ।

बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहने गरी सहयोगको व्यवस्थापन गर्ने, सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन सङ्घीय सरकारलाई आग्रह गर्दै आवश्यक सहयोग नगरपालिकाले गर्ने निर्णय गरेको छ ।

सबै नगरपालिकाले आआफ्नो नगरक्षेत्रमा भीडभाड हुने ठाउँमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गर्ने जनाएका छन् । बजार अनुगमनलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ । बजार अनुगमनमा क्रममा कालोबजारी गरेको , अत्यावश्यक सामान लुकाएको पाइएमा नगरपालिका आफैँले कारवाही गर्ने र थप कारवाही आवश्यक भए सङ्घीय सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

कोभिड–१९ को बारेमा सङ्घीय सरकार एवं विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचना एवं सन्देशलाई मात्रै आधिकारिक मानेर ग्रहण गर्न समेत बैठकले आग्रह गरेको छ ।
त्यसैगरी स्थानीय तह बन्द नगर्ने तर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, स्वास्थ्य संस्था बन्द नगर्ने बैठकले निर्णय गरेको छ । घरमा रहेका कर्मचारी आवश्यक पर्दा एक घण्टाभित्र नगरपालिकामा आउन सक्ने अवस्थामा राख्ने ,जनप्रतिनिधि सेल्फ क्वारेन्टाइनमा बस्ने, आमनगरवासीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन , सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिने र जनप्रतिनिधिले अत्यावश्यकबाहेक सम्पूर्ण भेटघाट बन्द गर्नेजस्ता निर्णय गर्दै साझा अवधारणा सार्वजनिक गरेको फोरमका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकका अध्यक्षता गर्नुभएका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न, आइपरेका सङ्कटसँग प्रभावकारी रुपमा जुध्न र सम्भावित सङ्क्रमणलाई रोक्न उपत्यकाका सबै पालिकाले साझा अवधारणा बनाएर एक भएर लाग्ने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० नरोकिने :

त्यसैगरी बैठकले आगामी असोज २१ गतेदेखि २४ गतेसम्म काठमाडौँमा आयोजना गरिने भनिएको अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० स्थगित नगर्ने भएको छ । सम्मेलन आउँन अझै छ महिना बाँकी भएकाले केही समयलाई सम्मेलनको तयारी रोकिए पनि सो भाइरसको जोखिम न्यूनीकरण भएपछि पुनः तयारी तीव्र पारिने निर्णय भएको फोरमका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा विभिन्न देशका ४१३ नगरपालिकाका नगर प्रमुख, १९ देशका विभिन्न राष्ट्रिय सङ्घसङ्गठन, १० वटा अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्मेलनका बारेमा कुराकानी भई पत्राचार भएको बैठकमा जानकारी गराईएको थियो ।

सम्मेलनका लागि भक्तपुरको गठ्ठाघरमा कार्यालय सञ्चालनमा ल्याइएको छ भने सम्मेलनका लागि कूल रु तीन करोड खर्च हुने भएको छ । खर्चको ५० प्रतिशत दुई महानगरपालिकाले व्यहोर्ने भएका छन् । त्यसमा पनि दुई तिहाइ काठमाडौँ महानगरपालिकाले ब्यहोर्ने र बाँकी ५० प्रतिशत खर्च १६ नगरपालिकाले दामासाहीले व्यहोर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्