मुक्तिनाथ र कागबेनी जान रोक « Arthapath.com
१० चैत्र २०७६, सोमबार

मुक्तिनाथ र कागबेनी जान रोक



ठिनी, रासस । मिालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय पर्यटकको सङ्ख्यामा कमी नआउँदा कोभिड–१९ को जोखिम बढ्ने देखिएकाले सर्वपक्षीय बैठकले मङ्गलबारदेखि अनिश्चितकालका लागि उक्त धार्मिकस्थलमा धार्मिक पर्यटक आवतजावत बन्द गर्ने निर्णय गरेको हो । “२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै निर्देशन दिएको छ तर हामी अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बामा भीडभाड देख्यौँ”, उहाँले भन्नुभयो, “मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुको उपस्थिति बाक्लो थियो । यही कारण बन्द गर्नुपरेको हो”, प्रजिअ अर्यालले बताउनुभयो ।

मुस्ताङमा धेरै देशका पर्यटक जाने भएका कारण सङ्क्रमित व्यक्ति छिर्न सक्ने भएकाले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिकस्थलहरू बन्द रहने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्