कोभिड १९ः सेनाको सेवा सराहनीय « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कोभिड १९ः सेनाको सेवा सराहनीय



शेरबहादुर सिंह

भीमदत्तनगर, रासस । गत शुक्रबार कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी र सिंहशार्दूल गुल्मबाट सैनिक अधिकृतको टोली सिमानाको स्थलगत अनुगमनका लागि ब्रह्मदेव र गड्डाचौकी क्षेत्रमा निस्कियो । सीमामा अन्य निकायबाट भइरहेको स्वास्थ्य परीक्षणको अवस्था र आवश्यक व्यवस्थापन देखेपछि सेनाले सोही दिनदेखि गड्डाचौकीमा स्वास्थ्य परीक्षण सेवा शुरुआत ग¥यो । सेनाको उक्त कार्यले भारतका विभिन्न शहरबाट स्वदेश फर्किने नेपालीलाई निकै सहज बनायो ।

सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित चार दिनदेखि निरन्तर पश्चिमीनाका गड्डाचौकीमा खटिनुभएको छ । कोराना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि उहाँको नेतृत्वको टोली सक्रियरुपमा लागेको छ । सोचौकी नाकामा सेनाको बाहिनी, सिंहशार्दूृल गुल्म र श्री नं २५ फिएको प्रयासले नै भारतका विभिन्न स्थानबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गर्ने कार्य प्रभावकारी बन्दै गएको छ । सोचौकी सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं ५ का नागरिकको लागि भारत जाने प्रमुख नाका हो । भारतका विभिन्न शहर पुग्ने नजिकको स्थलमार्ग भएकाले अहिले यहाँ यात्रुको चाप बढ्दै गएको छ ।

सरकारले भारत चीनसितको नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयपछि सीमा नाकामा आवतजावत नियन्त्रण गर्न तथा स्वास्थ्य परिक्षण गर्न सेनाले थप भूमिका निभाउनेबारे गृहकार्य गरिरहेको छ । सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लका अनुसार शुक्रबारयता भारतबाट फर्केका करिब २० हजार नेपालीको गड्डाचौकीमा स्वास्थ्य परीक्षण गरिएको छ ।

“शुक्रबारदेखि हामीले अस्थायी क्याम्प र आवश्यक घेरबार बनाएर स्वास्थ्य परीक्षण थालेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण गर्न अन्य निकायका स्वास्थ्यकर्मीसमेत खटिएका छन् ।” भीमदत्तनगरस्थित सिएमएको छात्राबासलाई भीमदत्त नगरपालिकाको व्यवस्थापकीय सहयोगमा सेनाले आइसोलेसन वार्डको स्थापना गरेको गुल्मपति मल्लले बताउनुभयो । सैनिक चिकित्सकको निगरानीमा गड्डाचौकीमै तापक्रम मापन गर्ने र बढी देखिए सैनिक चिकित्सककै सल्लाहमा महाकाली अस्पताल पु¥याउने प्रबन्ध मिलाइएको छ ।

“अहिलेसम्म ज्वरो देखिएका दुई जनालाई महाकाली अस्पताल पठाएका छौँ”, उहाँले भन्नुभयो, “गर्मीमा लाइन बस्दा, हिँडेर थकित भएर आएका कारण पनि ज्वरो आएको हुनसक्छ ।” सेनाको सैनिक चिकित्सकसहितको टोली स्वास्थ्य परीक्षणमा ब्यस्त छ भने बाहिनी र गुल्मको टोली अन्य व्यवस्थापकीय कार्यमा खटिएको छ ।

गड्डाचौकीका स्थानीयवासी सेनाको स्वास्थ्य परीक्षण कार्यले आफूहरुलाई पनि जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताउँछन् । “नाकाका बासिन्दा भएकाले हामीलाई पनि सङ्क्रमणको त्रास छ”, एक स्थानीयवासीले भन्नुभयो, “अन्य निकायले पनि स्वास्थ्य परीक्षण गरिरहेका थिए, सेनाको टोली आए पछि ढुक्क भएका छौँ ।”

सेनाका अधिकृतहरुले यहाँको ब्रह्मदेव र दोधारा चाँदनी नाकाको वस्तुस्थितिका बारेमा पनि स्थलगत जानकारी लिएको सेनाको श्री नं २५ बाहिनीका बाहिनीपति सहायकरथी पण्डितले जानकारी दिनुभयो । “हाम्रो टोलीले दैनिकरुपमा सिमा नाकाको अवलोकन गरिरहेको छ”, उहाँले भन्नुभयो, “घर फर्कनेको चाप बढी भएकाले गड्डाचौकीमा समस्या देखिएको छ ।” स्थानीय प्रशासन र स्थानीय सरकारसित सहकार्य गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो । “राष्ट्र, राष्ट्रियता र जनसरोकारको सवालमा सेनाले जहाँ जुन हिसाबमा सहयोग गर्न सक्छ त्यसमा हामी प्रतिबद्ध छौँ”, बाहिनीपति पण्डितले भन्नुभयो, “सर्वसाधारणलाई जोखिम न्यूनीकरणका लागि गर्नसक्ने सहयोगका लागि सेना तत्पर छ ।”

सेनाले आइतबारदेखि भीमदत्तनगरस्थित बसपार्कमा समेत हेल्थ डेस्क स्थापना गरेर सो भाइरस जोखिम न्यूनीकरणका लागि चेतनामूलक सामग्री यात्रु र सर्वसाधारणलाई वितरण गरिरहेको छ । सेनाले शनिबार गड्डाचौकी नाकाको स्थलगत अनुगमनका लागि पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्वास्थ्य परीक्षणको अवस्था, व्यवस्थापकीय कठिनाइलगायतका विषयमा जानकारी गराएको थियो । शुरुमा स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरणको कमी हुँदा कठिनाइका बीच पनि सेनाले काम गरेको थियो । पछि स्थानीय तह र प्रदेश सरकारले उपकरण उपलब्ध हुँदा काम गर्न सहज भएको हो ।

भारतको चण्डीगढबाट घर फर्किरहेका बैतडीका वीरेन्द्र धामीले सीमानाकामा नेपाली सुरक्षाकर्मीले अपनाएको सतर्कताको सराहना गर्नुभयो । सेनाले आइतबारदेखि शुरु भएको नेपाल–भारत सीमानाका बन्द र यहाँको भीमदत्तनगरपालिकाले आइतबार मध्यरातदेखि शुरु गरेको अत्यावश्यकबाहेक बजार बन्द गर्ने निर्णयबमोजिम बजार क्षेत्रमा सुरक्षा गस्तीको अनुगमन गरिरहेको छ । “हल्ला फैलाउनेहरुका कारण समस्या थप जटिल बनेको छ”, उहाँले भन्नुभयो । स्थानीय प्रशासनले शनिबारदेखि गड्डाचौकी नाका बाहेकका जिल्लाका अन्य नाकाबाट भारत आवागमनमा रोक लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्