कोरोनाले घोडेजात्रा स्थगित « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

कोरोनाले घोडेजात्रा स्थगित



काठमाडौँ । नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ ।

सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिनुभयो ।

जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो । विगत वर्षमा घोडेजात्रामा २४ खेल प्रदर्शन गर्ने गरेकामा यस वर्ष १५ खेलमात्र प्रदर्शन गर्ने सेनाको तयारी थियो । यसका लागि अभ्यास र साजसजावट लगायत तयारी पनि पूरा भएको थियो ।

विशिष्ट अतिथि, अतिथि लगायत नबोलाई सीमित मानिसका बीच सेनाले यस वर्ष साङ्केतिक रुपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको थियो । साङ्केतिक रुपमा पनि मनाउन उपयुक्त वातावरण नदेखिएपछि स्थगन गरिएको हो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । कोरोना भाइरसका सन्त्रासका कारण सबैतिरका घोडेजात्रा प्रभावित भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्